

ओली मन्त्रिपरिषदमा अटाउने सम्भावित अनुहार यस्ता छन्, पाण्डे अर्थमन्त्री बन्लान्?
माधव नेपाल समूहको शीर्ष तहको बैठक जारी, केन्द्रीय सदस्यलाई डाकियो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ राष्ट्रपति विद्यादेवी भण्डारीसँग लिँदैछन्। सो क्रममा उनले मन्त्रिपरिषदका अन्य केही सदस्य नियुक्त गरेर शपथ लिन चाहेका छन्।
संविधानको धार ७६ को उपधारा ३ अनुसार नेकपा एमाले अध्यक्ष ओलीलाई विहीबार राती प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। नेता माधवकुमार नेपाल पक्षलाई समेत समेट्नेगरी ओलीले मन्त्रिपरिषद गठन, नियुक्ति र मन्त्रालय हेरफेर समेत गर्ने तयारी गरेका छन्।
ओली प्रधानमन्त्रीमा नियुक्त भएसँगै सबै केन्द्रीय मन्त्रीहरु पनि पदमुक्त भएका छन्। उनीहरू मध्ये पनि धेरै पुनः नियुक्ति पाउनेमा पर्दैछन्।
ओली र नेपाल पक्षले को–को मन्त्री बन्ने भन्ने स्पष्ट नखुलाए पनि सम्भावित अनुहारका विषयमा स्रोतले दाबी गरेको छ। नेपाल पक्षका चार जना मन्त्री नियुक्त हुने बताइएको छ।
माधव समूहमा सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईलाई मन्त्री बनाउने चर्चा छ। शुक्रबारै मन्त्रिपरिषदमा सहभागी हुने नहुनेबारे नेपाल समूहले स्पष्ट पारेको छैन। उक्त समूहको शीर्ष तहका नेताको बैठक जारी छ भने केन्द्रीय सदस्यको बैठक २ बजेपछि बोलाइएको छ।
ओली पक्षमा युवा नेता महेश बस्नेतले पनि महत्वपूर्ण मन्त्रालय पाउने चर्चा छ। रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र मणी थापालाई मन्त्रीमा नियुक्ति दिने तयारी भएको छ।
ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शिवमाया तुम्बाहाम्फे, जुली कुमारी महतोले निरन्तरता पाउने जनाइएको छ। उनीहरु मध्ये केहीको जिम्मेवारी हेरफेर हुन सक्ने बताइएको छ। अर्थ मन्त्रालयमा नेपाल पक्षका पाण्डेको चर्चा छ।
विपक्षी गठबन्धनलाई असहयोग गरेर ओलीलाई सहयोग गरेका जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई पनि ओलीले सरकारमा ल्याउने तयारी थालेका छन्।
तर, उनीहरु तत्कालै सरकारमा सहभागि नहुने बताउँदै आएका छन्। अहिले सरकारमा सहभागि नभए पनि उनीहरुको लागि ७ वटा मन्त्रालय खाली राखिने दाबी गरिएको छ। ‘महन्थजीहरु पनि केहि दिनपछि सरकारमा आउनुहुन्छ। उहाँहरुको लागि स्थान खाली राखिनेछ,’ एकजना एमाले नेताले भने।

