

क्यान्सर पीडित अनिशालाई उपचारमा समस्या, सहयोगको अपिल

काठमाडौं – गोरखा ताकुकी क्यान्सरपीडित अनिशा ढकाल भट्टलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ। एक वर्षअघि देखिएको स्तनक्यान्सरको पटकपटक शल्यक्रिया गरिरहनुपर्दा उनलाई आर्थिक समस्या परेको हो।
गतवर्ष ललितपुरको नेपाल क्यान्सर अस्पतालमा चेकअप गर्दा उनलाई स्तनक्यान्सर भएको पत्ता लागेको थियो। लामो समयदेखि स्तनक्यान्सरको उपचार्थ पीडितको किमोथेरापी विधिबाट उपचार गराइराख्नुपर्ने र उपचार खर्चिलो भएपछि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई उनले सहयोगको अपिल गरेकी छन्।
उपचारमा अहिलेसम्म व्यक्तिगत खर्चले गरिएपनि थप उपचार खर्चका लागि समस्या भएको पीडितका भाई प्रकाश ढकाल बताउँछन्। ‘आर्थिक अभावले थप उपचारमा सकस भइरहेको छ,’ उनले भने, ‘लामो समयसम्म उपचार गराउनुपर्ने चिकित्सकहरुको सुझाव छ।’
उपचार खर्च कहाँबाट जुटाउने भन्ने चिन्ताले सताइरहेको पीडित परिवारको भनाइ छ। शल्यक्रियाबाट एउटा स्तनको उपचार गरिएपनि किमो चढाउन हरेकपल्ट ९० हजारको हाराहारीमा खर्च हुन्छ। यसैबीच पीडितको उपचारमा माइती गाउँ गण्डकी गाउँपालिकाका बासिन्दाहरु सक्रिय भएका छन्।
हाल अनिशाको भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उनको उपचार भइरहेको छ। ४ महिनादेखि उक्त अस्पतालमा क्यान्सर रोगसँग लडिरहेकी अनिशाको उपचारका आर्थिक सहयोग गर्न चाहनेले कास्की पोखराको सिर्जना चोकस्थित एसबिआई बैंकको खाता नम्बर १८३१५२४१४००७९४ मा रकम पठाउन सक्नेछन्।
Account Holder Name : Narad Bhatta
Account Number : 18315241400794
Bank name : Nepal SBI Bank, Kaski Pokhara Sirjana Chowk Branch.
भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराउँदै अनिशा ढकाल। तस्बिर स्रोतः अनिशाको फेसबुक
अनिशाको उपचारमा ३० देखि ४० लाखसम्म लाग्ने परिवारको भनाइ छ। दुई वर्षकी दुधे बालिका छोरीलाई छाडेर उपचारको क्रममा भारतको राजीव गान्धी अस्पतालको बेडमा छट्पटाइरहेकी अनिशाको अनलाइनन्यूज७ परिवार शीघ्र स्वास्थलाभको कामना गर्दछौं।
स्तनक्यान्सर भनेको के हो?
स्तन क्यान्सर महिलामा हुने डरलाग्दो रोग हो। नेपालमा क्यान्सर सम्बन्धी वास्ताविक तथ्यांक थाहा नभए तापनि केन्द्रीय स्तरका अस्पतालहरुको तथ्याकंअनुसार महिलामा पाठेघरको मुखको क्यान्सर पछिको सबैभन्दा बढी हुने स्तन क्यान्सर हो। स्तन क्यान्सर सरुवा रोग होइन। तर केही स्तन क्यान्सर वंशानुगत (१० प्रतिशत भन्दा कम) हुन सक्छ।
शरीरको अन्य कुनै अंग जस्तै स्तन पनि खास कार्य गर्नलाई विभिन्न कोषहरुले बनेको हुन्छ। स्तन शरीरको बाहिरी भागमा रहेकोले यसमा भएका परिवर्तनलाई सजिलै पत्ता लगाउन सकिन्छ। तर कुनै किसिमका कोषहरु अनावश्यक रुपमा बढ्दै गयो भने यी नयाँ कोषको समुहलाई स्तन ट्यमर अथवा गाँठो भनिन्छ। हुन त स्तनमा हुने सबै गाँठाहरु क्यान्सर हुँदैनन्। लगभग १० प्रतिशत गाँठाहरु मात्र क्यान्सर हुन्छन्।
तर स्तनमा कुनै किसिमका गाँठाहरु भेटियो भने चिकित्सकसँग परामर्श गरी यसको निवारण गर्नु उचित हुन्छ। सायद अज्ञानताको कारणले गर्दा होला, स्तनमा सानो गाँठो खासगरी नदुख्ने गाँठो (जसमा क्यान्सर हुने बढी सम्भावना हुन्छ) हो भने प्रायःजसो महिलाहरु चिकित्सककहाँ जाँदैनन्। जब क्यान्सरले गर्दा गाँठो ठूलो भई अप्ठ्यारो हुने, फुटेर घाउ हुने तथा क्यान्सर फैलिसकेपछिका लक्षणहरु देखा परेपछि मात्र स्वास्थ्य संस्थामा गएको देखिन्छ।

