

ओलीविरोधी गठबन्धनलाई सघाउन भारतीय कांग्रेसको लगानी रहेको पत्रिकामा ‘अफवाहपूर्ण सम्पादकीय’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बन्न लागेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षलाई सहयोग पुग्नेगरी भारतीय कांग्रेसको लगानी रहेको पत्रिकामा अफवाहपूर्ण सम्पादकीय प्रकाशित गरिएको छ।
भारत सरकार खासगरी प्रधानमन्त्री नरेन्द्र मोदी प्रशासन नेपालमा प्रधानमन्त्री ओलीको पक्षमा रहेको तथा जसपा अध्यक्ष महन्थ ठाकुरलाई तटस्थ बस्नका लागि भनिएको दाबीसहित हिन्दूस्तान टाइम्सले सम्पादकीय प्रकाशित गरेको छ।
उक्त पत्रिका भारतमै प्रधानमन्त्री मोदीविरोधी अभियानमा सक्रिय पत्रिका हो। उसले मोदी प्रशासनको दक्षिण एसीयाली तथा विदेशी सम्बन्धमा अप्ठ्यारो पार्नका लागि यस्ता समाचार, विश्लेषण र सम्पादकीय प्रकाशित गर्दै आएको छ।
उक्त पत्रिकाको लगानीकर्ता शोभाना भारतीय हुन्। जो भारतीय कांग्रेसनिकट व्यावसायी हुन्। उनी भारतीय कांग्रेसबाट त्यहाँको राज्यसभा सदस्यका लागि पनि सिफारिस भएकी व्यावसायी हुन्। सन् २००६ देखि २०१२सम्म राज्यसभामा सदस्य समेत बनेकी थिइन्। जो हिन्दूस्तान टाइम्सकी सम्पादकीय निर्देशक हुन्। योसँगै उनी इन्डेभर इन्डियाकी अध्यक्ष पनि हुन्।
हिन्दूस्तान टाइम्सले नेपालमा माओवादी तथा त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग पुग्नेगरी काम गर्दै आएको छ। हालै मात्र तत्कालिन नेकपामा प्रधानमन्त्री ओलीसँग शक्ति संघर्ष हुँदा पत्रिकाले प्रचण्डलाई सहयोग पुग्नेगरी समाचार प्रकाशित गरेको थियो।
‘प्रधानमन्त्री ओलीलाई मोदीको सहानुभूति छैन भन्ने कुरामा बिमती होइन तर भारतका दुई पक्षले नेपालको आन्तरिक राजनीतिमा खेलिरहेको छ’, एक विश्लेषक भन्छन्,‘ओलीलाई नेपालमा भारतपरस्त देखाउन विरोधी गठबन्धनलाई सघाऊ पुग्नेगरी सम्पादकीय प्रकाशित भएको देखिन्छ, नेपालको आन्तरिक विषयमा यसरी सम्पादकीय नै लेखेर किन हल्ला फिजाइयो?’

