

कोरोना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा रातभरीमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाका दुई ठूला भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको बर्दियाका कोभिड फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए।
बर्दिया गुलरिया नगरपालिका वडा नं. ९ का ४७ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ। वैशाख १५ गते पीसीआर गरिएका उनलाई २५ गते भर्ना गरिएको थियो। सल्यान वनगाडका ५० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ।
वैशाख २५ गते भर्ना गरिएका उनको २६ गते पीसीआर गरिएको थियो। नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ का ४४ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख २४ गते भर्ना भएका उनको २७ गते पीसीआर गरिएको थियो।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ का ४९ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। वैशाख १८ गते पीसीआर गरिएका उनलाई २३ गते भर्ना गरिएको थियो। बर्दिया मधुवन नगरपालिका वडा नं.६ का ५५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख १३ गते भर्ना भएका उनलाई २७ गते पीसीआर गरिएको थियो।
कैलाली घोडाघोडीका ६० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। वैशाख २२ गते पीसीआर गरेका उनलाई २९ गते भर्ना गरिएको थियो। कोहलपुर नगरपालिका वडा नं। २ का ३० वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ।
वैशाख २२ गते पीसीआर गरिएका उनलाई २३ गते भर्ना गरिएको थियो। कोहलपुर नगरपालिका वडा नं. १० का ४५ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ।
वैशाख १८ गते भर्ना गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय दुई जना पुगेको छ। बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या एक सय ५६ जना पुगेको छ।

