

प्रधानमन्त्री पदमुक्त हुनुभयो, अब राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ : नेम्वाङ

काठमाडौँ – नेकपा एमालेका नेता एवं संविधान सभाका पूर्व अध्यक्ष सुवास नेम्वाङले संसदमा विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएको बताएका छन् ।
संसदमा मतदानपछि बाहिर निस्किदै गर्दा उनले भने, ‘प्रधानमन्त्री पदमुक्त हुनुभयो, अब राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ, ।
साेमबार प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्रीको बहुमत गुमेको हो।
विश्वासको मतको पक्षमा ९३ र विपक्षका १२४ सांसदहरुले मतदान गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका हुन्। यस्तै सापकोटाका अनुसार १५ जना सांसदहरूले पक्ष वा विपक्ष दुवैतर्फ मत दिएनन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा २३२ जना सांसद उपस्थित रहेका थिए। सभामुख सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको घोषणा गरेका हुन्।

