

माधव नेपालले पार्टी फुटाए त्यतै लाग्छुः बामदेव गौतम

काठमाडौं– एमाले नेता बामदेव गौतमले माधवकुमार नेपालले पार्टी विभाजन गरे त्यतै लाग्ने खुलासा गरेका छन्।
एमालेमा देखिएको पछिल्लो घटनाक्रमबारे आफ्ना दुई बुँदे धारणा सोमबार सार्वजनिक गर्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली २८ फागुनको निर्णय सच्याएर २ जेठ २०७५ फर्किन नमानेका कारण नेपालतिर लाग्ने खुलाएका हुन्।
उनका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार गौतमले प्रधानमन्त्री ओलीसँग एमालेको स्थिति २ जेठ २०७५ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह गरेको थिए। तर ओलीले ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ। त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन’ भन्ने उत्तर दिएपछि साथ नदिने गौतमको घोषणा छ।
गौतमले नेता नेपाल र झलनाथ खनाल लगायतले एमालेमा समानान्तर कमिटी बनाएको असहमति जनाएका छन्।
उनले भनेका छन्,‘वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन। तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यसमा सामेल हुनेछु।’

