विश्वासको मतका लागि जसपाले ह्वीप जारी नगर्ने, सांसदमाथि उपेन्द्रको निगरानी


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतका लागि ह्वीप जारी नगर्ने भएको छ।

पार्टी शीर्ष नेताहरुको आइतबार बसेको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको हो। यससँगै जसपाका सांसदहरुले स्वविवेक प्रयोग गरी मतदान गर्न पाउने भएका छन्।

संघीय परिषदका संयोजक डा. बाबुराम भट्टराईको निवास, टोखामा बसेको बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले तटस्थ बस्ने प्रस्ताव गरेका थिए।

भट्टराई–उपेन्द्र यादव पक्षका नेताहरुले विश्वासको मत माग्ने प्रस्तावको विपक्षमा मत दिनुपर्ने बताएका थिए। दुई पक्षबीच कुरा नमिलेपछि सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय भएको हो।

जसपाभित्रको पूर्व राजपाका सांसदहरू तटस्थ बस्ने भनिरहेका छन् भने पूर्व सपाका सांसदहरू विपक्षमा मतदान गर्ने तयारीमा छन्।

विपक्षमा मतदान गर्ने आफ्नो लाइनमा कायम रहिरहनका लागि उपेन्द्रले आफ्ना सांसदहरुलाई विशेष किसिमले निगरानी गरिरहेका छन्। जसपाकै एक सांसदले भने, ‘उहाँले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्नका लागि विभिन्न किसिमको डर, धाक, धम्की दिनुभएको छ।’

आज १ बजे संसद भवन बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन बोलाइएको छ। उक्त बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनेछन्।

प्रतिक्रिया