

सांसदबाट राजीनामा दिन माधव नेपाल संसद सचिवालयमा, अन्तिम वार्ता गर्न नेम्वाङ र पौडेलको भेट

काठमाडौं– प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिनका लागि एमाले नेता माधवकुमार नेपाल संसद सचिवालयको कार्यालय सिंहदरबारमा पुगेका छन्। उनीसँगै योगेश भट्टराई सोमप्रसाद पाण्डे पनि पुगेका छन्।
नेपाल पक्षका अन्य सांसद पनि राजीनामा दिनका लागि विस्तारै सिंहदरबार पुग्ने क्रम जारी रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिने भएपछि उनलाई असफल बनाउनका लागि नेपाल समूहले राजीनामा दिन लागेको हो।
नेपाललगायतको राजीनामाले प्रतिपक्षी गठबन्धनलाई अविश्वासको प्रस्ताव ल्याउन सजिलो र नयाँ सरकार बनाउनका लागि सहज हुने समझदारी बनेको थियो।
यसैबीच, नेपालसँग अन्तिम वार्ताका लागि ओलीका पक्षबाट अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सिंहदरबारमा पुगेका छन्। उक्त भेटमा समझदारीको अन्तिम प्रयत्न हुनेगरी ओलीले दूतका रुपमा पौडेल र नेम्वाङलाई पठाएका हुन्।

