

रेड जोनमा नेपाल: पछिल्लो १० दिन नेपाल बसेका व्यक्ति बेलायत जान नपाउने

काठमाडौं – कोरोना -१९ को दोस्रो लहर फैलिएसँगै बेलायतले नेपाललाई रेड जोनमा राखेको छ । जसअनुसार पछिल्लो १० दिन नेपालमा रहेका विदेशी नागरिक बेलायत छिर्न नपाउने गरी बेलायतले यात्रा प्रतिवन्ध लगाएको छ ।
नेपालमाथिको प्रतिवन्ध १२ मे (२९ वैशाख)बाट कार्यान्वयनमा आउने बेलायत सरकारद्वारा जारी ट्राभल एड्भाइजरीमा उल्लेख छ । यो नियम इंगल्याण्डसहित स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डका लागि समेत मान्य हुनेछ । यो विदेशी नागरिकको हकमा लागु हुनेछ ।
उक्त मुलुकले स्वास्थ्य मापदण्डका तोकिएका शर्त पुरा गरेर भने आफ्ना नागरिकलाई प्रवेश अनुमति दिनेछ । बेलायतले अत्यावश्यक काम नपरेसम्म नेपाल यात्रामा नजान समेत आफ्ना नागरिकलाई सचेत गराएको छ ।
अहिले नेपाल सरकारले नै अन्तर्राष्ट्रिय उडान बन्द गरि आवागमन रोकेको छ । नेपालबाट अन्य मुलुकका ट्रान्जिट भई छिर्ने यात्रुलाई समेत आफ्नो ट्राभल कम्पनीसँग सम्पर्क गरि घोषित ‘रेडलिस्ट’बारे जानकारी लिन बेलायतले अनुरोध गरेको छ ।

