पद छाड्दै पुटिन ?


मस्को(एजेन्सी)– केही समय अघि मात्र रुसका वर्तमान राष्ट्रपति भ्लादिमीर पुटिनले सन् २०३६ सम्म सत्ता सम्हाल्ने समाचार सार्वजनिक भएको थियो । सन् २०३६ सम्म आफ्नो कार्यकाल उनले लम्ब्याए पनि त्यो समयावाधिसम्म उनी सत्तामा नरहने उनलाई छनक देखाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार उनी आगामी जनवरीमा राष्ट्रपति पदबाट बिदा हुने योजनामा छन् ।

उमेरले ६८ वर्षमा दौड्दै गरेका पुटिनको स्वास्थ्य प्रति उनको परिवारले चिन्ता जनाउन थालेपछि उनलाई अवकाश लिन सुझाव दिएका छन् । पुटिनको ३७ वर्षे प्रेमिका अलीना कबाइवा र उनका दुई छोरीहरुले पुटिनलाई पद छोड्न बारम्बार आग्रह गरिरहेका छन् । यो कुरालाई मस्कोकाा राजनीतिक विश्लेषक वलेरी सोलोवीले पनि घुमाउरो पाराले पुष्टि गरेका छन् ।

‘एक परिवार छ, जहाँ उनको प्रभाव धेरै छ । उनी जनवरीमा आफ्नो पदबाट राजीनामा दिने योजना सार्वजनिक गर्न सक्छन्’, सोलोवीले भनेका छन् । पुटिन पार्किन्सन्सबाट पीडित छन् । हालैका उनका तस्बिरमा पनि यो बिरामीको लक्षण देखिएको छ ।

पुटिनको हालैको सार्वजनिक केही भिडियोको अध्ययन गरेका विशेषज्ञहरुले पुटिनको खुट्टा निरन्तर रुपमा कामिरहेको बताएका छन् । ‘आरामलाई वास्ता नगर्दा उनको शरीरमा पीडा देख्न सकिन्छ । उनको औलामा पनि त्यो कम्पन छ । उनको औलाको कम्पन उनले कलम समाउदा प्रष्ट देखिन्थ्यो’, ती विशेषज्ञले भनेका छन् ।

सोलोवीले पुटिनले चाँडै नै एक प्रधानमन्त्रीलाई नियुक्ति गर्ने दाबी गरेका छन् । तर राष्ट्रपति कार्यालयका कर्मचारीहरुले पुटिनले पद छोड्ने कुरा केबल हल्लामात्र भएको बताएका छन् ।

प्रतिक्रिया