कामिरिताकाे नयाँ कीर्तिमान, २५ औं पटक पुगे सगरमाथाको शिखर


काठमाडौं – विश्व कीर्तिमानी आरोही गाइड कामिरिता शेर्पाले आफ्नो नाममा रहेको सगरमाथा आरोहणको कीर्तिमान तोडेका छन् । शुक्रबार साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २४ औं पटकको आफ्नो रेकर्ड तोडेर २५ औं पटक कायम गराएका हुन् ।

सन् २०१९ मा एकै महिनामा दुई पटक आरोहण गरी २४ औं पटक सगरमाथा हिमाल (८,८४८.८६ मिटर) को आरोहण गरेर संसारकै धेरै सगरमाथाको आरोहण गर्ने आरोहीको रुपमा नाम लेखाएका थिए ।

कामिरिताको नेतृत्वमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्ने क्रममा उनले चुचुरो पुगेको आयोजक कम्पनी सेभेन समिट ट्रेकका प्रमुख मिङमा शेर्पाले जानकारी दिए ।

कीर्तिमानी आरोही शेर्पा फेरी बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलीफालाई आरोहण गराउन पुनः सगरमाथा आरोहण गर्ने लक्ष्य राखेको शेर्पाले बताए ।

विभागले बाटो बनाएर चुचुरो पुग्नेलाई पनि आरोहण प्रमाणपत्र दिने गरेको छ । यसै महिना दुई पटक आरोहण सफल भएपछि उनी २६ औं पटक सगरमाथा आरोहण गर्ने संसारकै एक मात्र व्यक्तिको रुपमा स्थापित हुनेछन् ।

आप्पा शेर्पाले २१ पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान राखेका थिए तर कामिरिताले सन् २०२१ मा २५ औं पटक आरोहण गरेपछि उनी सगरमाथाको सर्वाधिक आरोहण गर्ने आरोहीको रुपमा रेकर्ड राखेका छन् ।

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरे देखि हालसम्म धेरै आरोहण गर्ने व्यत्तिमा कामिरिताको रेकर्ड तोड्न सक्ने सम्भावना कमै देखिएको छ ।

२१ पटक भन्दा बढी आरोहण गर्ने आरोही नभएपछि कामिरिताको रेकर्ड ब्रेक हुने सम्भावना कम भएको आरोही गाइडहरुको भनाई छ । ६८ वर्षको सगरमाथा आरोहण इतिहासमा हालसम्म ६ हजार ५०७ जनाले सगरमाथाको आरोहण गरी सकेको पर्यटन विभागको तथ्याङक छ ।

यस वर्ष ४०७ जनाले सगरमाथा आरोहणका लागि अनुमती लिएका छन् सन् २०१८ मा २६२ र सन २०१९ मा २८० जनाले सगरमाथाको आरोहण गरेको गोरखापत्रमा प्राशित समाचारमा उल्लेख छ ।

प्रतिक्रिया