माओवादीले हत्या गरेका वाचनशिरोमणि पोखरेलको प्रवचन अहिलेपनि घन्किन्छ घरघरमा!
काठमाडौं – वाचनशिरोमणि नारायण पोखरेलको हत्या भएको बिहीबार १६ वर्ष पूरा भएको छ। आज पनि मठमन्दिरदेखि घरघरसम्म पोखरेलकैप्रवचन समाज सुधारका लागि धार्मिक चेतना बनेर घन्किएका हुन्छन्।
भौतिक शरीरलाई अन्त गर्न सकिँदो रहेछ तर कर्मको अन्त हुँदो रहेनछ भन्ने एउटा सबैले बुझ्ने उदाहरण वाचनशिरोमणि स्व. पण्डित नारायण पोखरेल हो।
पोखरेलको हत्या किन गरिएको थियो र कसको निर्देशनमा भएको थियो? स्वार्थ के लुकेको थियो? अझै पनि प्रश्न अनुत्तरित छ। यस विषयलाई एकछिन पछि व्याख्या गर्नेछु।
कुनैबेला उनको प्रवचन र भजन सुन्न राजा वीरेन्द्र, पूर्वप्रधानमन्त्री गणेशमान सिंह पनि जाने गर्थे। भागवत कथा वाचनको ३० वर्ष अवधिमा पोखरेलले लगभग ८००० दिन निरन्तर कथा वाचन समेत गरेका छन्।
त्यस्ता नेपाली समाजको मनमुटुमा बस्न सफल पोखरेलको हत्या भएको १६ औं स्मृति दिवसमा नेपाल सरकारले सम्झनुपर्छ जस्तो लाग्छ। समाजमा आफ्नो छुट्टै पहिचान बनाएका स्व. पोखरेललाई सम्झिन छाडिसके।
कुनै राजनीतिज्ञ भएको भए नेपाल सरकारले विज्ञप्ति नै निकालेर श्रद्धासुमन अर्पण गथ्र्यो। तर, वाचनमार्फत नै नेपालीको ढुकढुकी बनेका पोखरेललाई पूर्वराजा ज्ञानेन्द्र साहले समेत बिर्सिसकेका छन्।
दाजु वीरेन्द्र पोखरेलको प्रवचन सुन्न जाने गरेको कुरा पूर्वराजा ज्ञानेन्द्रलाई पनि थाहा होला। तर, एकपटक त्यस्तो आध्यात्मिक जागरणकर्ता व्यक्तिलाई नसम्झनु उहाँको आफ्नै कारणहरु पनि होला।
हुनतः पूर्वराजा ज्ञानेन्द्र अस्वस्थ भइ अस्पतालमा उपचाररत हुनुहुन्छ। स्वास्थ्य अवस्थाको कारण बिर्सिएको पनि हुनसक्छ। उहाँको स्वास्थ्यलाभको कामना गर्दछु।
नेपाली समाजका आध्यात्मिक जागरणकर्ता, शैक्षिक एवम् सामाजिक संंघसंस्थाका प्रवर्धक, जातीय समाजको विभाजनको अन्त्यका लागि लागेका धर्म र संस्कृतिका संरक्षक पोखरेललाई नेपाल सरकारले त परै जाओस् अन्य पार्टीका नेताहरुले समेत सम्झिँदैनन्।
उनको भौतिक देहको अवसान भए पनि विचार र समाज समृद्धिका हिसाबले वाचनशिरोमणि पोखरेलको चिन्तन जीवन्त नै रहिरहेको हामी नै भन्दै आएका छौं। तर, उहाँप्रति श्रद्धासुमन अर्पण गर्न हामी कन्जुस्याइ गर्छौं।
००००
गोरखाको तत्कालिन वगुवा गाविस–७ स्थायी घर भएका ५१ बर्षीय वाचन शिरोमणि पोखरेललाई आजकै दिन ०६२ वैशाख २३ गते रुपन्देही जिल्लाको दुधराक्ष गाविस–५ मा क्याम्पस निर्माणको लागि सप्ताह यज्ञ गरिरहेको अवस्थामा गोली हानी हत्या गरिएको थियो।
तात्कालिक दुधराक्ष गाविसमा रहेको रामापुर क्याम्पसको स्तरोन्नति र भौतिक विकासका लागि महायज्ञ र कथावाचन आयोजना गरिएको थियो। त्यहाँ कथावाचन गर्नुअघि दाङमा माआवादी नेताहरूले उनलाई दही खुवाएर स्वागत गरेका थिए।
साथै माओवादी नेताहरूले उनको कथावाचनमा उनीहरूको कुनै आपत्ति छैन भन्ने आश्वासन समेत दिएका थिए। तर, बिडम्बना उनको गोली हानी हत्या भयो।
जतिबेला नै बीबीसी नेपाली सेवाले पोखरेलको हत्याको जिम्मेवारी तत्कालिन माओवादीको भातृसगंठन दलित मुक्ति मोर्चाले लिएको समाचार प्रसारित गरेको थियो। तर, अहिलेसम्म उनको हत्यारा पत्ता लागेको छैन्।
हुनतः तत्कालिल एमालेका महासचिव मदन भण्डारीको हत्या पकरण त सुल्झेको छैन। भण्डारीपत्नी विद्यादेवी भण्डारी अहिले देशको प्रमुख हुँदा मदनको हत्यारा पत्ता लागेको छैन भने पोखरेल त एउटा सामान्य नागरिक।
विश्व हिन्दु महासंघमार्फत सक्रिय भएपछि उनको कथावाचन शैली अझ लोकप्रिय भई पोखरेल समाजसुधारका लागि समेत समर्पित थिए। सामाजिक अन्धविश्वास र रूढिबुढीको अन्त्यका लागि लागेका विलक्षण प्रतिभाका पोखरेलजस्ता निरपराध र समाजसेवीको हत्या किन गरियो?
यसको प्रश्न सायद कसैले पनि भेटाउन सक्दैन? पोखरेलप्रतिको हरेक प्रश्न केबल प्रश्न बनेका छन्। तर, उत्तर दिने निकाय नै मौन छ। पुनः भविष्यमा पनि सदैव रहिरहने वाचनशिरोमणि पोखरेलप्रति नमन, हार्दिक श्रद्धासुमन।