

सेनालाई एक हजार बेडको कोभिड अस्थायी अस्पताल बनाउन निर्देशन, विदेशी नागरिक प्रवेशमा रोक

काठमाडौं– सरकारले नेपाली सेनालाई काठमाडौंमा एक हजार बेड क्षमता भएको अस्थायी कोभिड अस्पताल बनाउन निर्देशन दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने क्रममा उक्त निर्देशन दिएको खुलाएका हुन्। उनले काठमाडौंको मिलिटरी अस्पताल, वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा स्थापना गर्न भनिएको बताए।
यस्तै उपत्यकामा रहेका नीजि अस्पताललाई पनि कोभिड अस्पतालका रुपमा सञ्चालनका लागि प्रक्रिया गरिएको प्रधानमन्त्री ओलीले बताए।
प्रदेश सरकारलाई पनि सम्बन्धित स्थानमा रहेका अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्नका लागि निर्देशन गरिएको छ।
उनले विदेशबाट नेपालमा आउने हरेकको कोभिड जाँच अनिवार्य गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिए। विदेशी नागरिकलाई तत्काल नेपाल प्रवेशमा रोक लगाइएको प्रधानमन्त्री ओलीको भनाई छ।

