स्थानीय तहलाई सूचना तथा सञ्चार प्रविधिमैत्री बनाउनुपर्नेमा जोड


काठमाडौँ – ‘डिजिटल नेपाल’ को आकाङ्क्षा पूरा गर्नका लागि स्थानीयवासीलाई सूचना तथा सञ्चार प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिइएको छ ।

चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०७८ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट शुभकामना व्यक्त गर्दै वक्ताहरुले स्थानीय तहका प्रत्येक कार्यालयलाई आइसिटीमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले आइसिटी क्षेत्र मुलुकको आर्थिक विकासलागयत सबै क्षेत्रको विकासमा जोडिएको जनाउँदै आइसिटी क्षेत्रको विकास गर्नुपर्ने बताए ।

सरकारमा मुख्य सचिव शङ्करदास वैरागीले डिजिटल नेपालको उद्देश्य पूरा गर्न सबैभन्दा पहिला सरकारी कामकाजलाई नै व्यावहारिक रुपमै डिजिटलमैत्री बनाउने कार्य भइरहेको बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्दै दूरसञ्चार सेवालाई सबै जनताको पहुँचमा पुर्याउने गरी प्राधिकरण तीव्र रुपमा काम गरिरहेको जानकारी दिए ।

दिवसका अवसरमा मन्त्रालयले आइसिटी क्षेत्रमा योगदान पुर्याउने चार सङ्घसंस्था र व्यक्तिलाई आज आइसिटी अवार्ड प्रदान गरेको छ । मन्त्रालयले सुदीप पराजुली, कुसुम लामा, हुवाय कम्पनी र सार्वजनिक महालेखा नियन्त्रण कार्यालयलाई सो अवार्ड प्रदान गरेको हो ।

 

प्रतिक्रिया