कारभित्र मृत भेटिएका तीन बालकको निस्सासिएर मृत्यु !


काठमाडौं – दाङको तुलसीपुर उपमहानगरपालिका–६, स्याउलीबजारनजिक भारतीय नम्बर प्लेटको गाडीभित्र मृत भेटिएका तीन बालकको निस्सासिएर ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ।

पार्किङ गरेर राखिएको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र उनीहरुको निस्सासिएरै ज्यान गएको प्रहरीले प्रारम्भिक निस्कर्ष निकालेको छ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार कार लक हुँदा हावा कतैबाट नपसेपछि उनीहरुको ज्यान गएको हुनसक्छ। ‘घटनाको प्रकृति हेर्दा हत्याजस्तो देखिँदैन।’ अनुसन्धानमा संलग्न ती अधिकारीले भने।

‘पार्किङमा रहेको कारको एक ढोका खुला रहेछ। उनीहरु तीनैजना सो ढोकाबाट भित्र पसेपछि कार लक हुँदा हावा कतैबाट नपसेपछि उनीहरुको ज्यान गएको हाम्रो प्रारम्भिक निष्कर्ष छ,’ प्रहरीको दावी छ।

शनिबार तुलसीपुर उपमहानगरपालिका–६, स्याउलीबजारनजिक भारतीय नम्बर प्लेटको कारमा तीनजना बालकको शव फेला परेको थियो। १६ वैशाखदेखि हराइरहेका तीन बालक कारभित्र मृत अवस्थामा फेला परेका थिए।

तुलसीपुर–६, गाइडरका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका सात वर्षीय छोरा करण परियार मृत भेटिएका हुन्।

प्रहरीले उनीहरुको गोजीमा ताससमेत फेला परेको छ। उनीहरु पार्किङ गरेर राखेको कारमा तास्न खेल्न पसेको हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताए। यद्यपी लामो समयदेखि उक्त कार पञ्चर भएर त्यही थन्किएको थियो।

शव भेटिएको घटनाको अनुसन्धान प्रहरीको विशेष टोलीले गरिरहेको छ। घटनाको थप अनुसन्धान गर्न बाँकेबाट तालिमप्राप्त कुकुरसहितको विशेषज्ञ टोली तुलसीपुर पुगेको छ।

शवलाई पोस्टमार्टमको लागि अस्पताल पुर्‍याइएको छ।

प्रतिक्रिया