भारतको राहत मिल्ने खबर, एकै दिन ३ लाख ८ हजार कोरोना संक्रमित भए निको


दिल्ली – भारतमा कोरोनाको दोस्रो लहरले भयावह रुप लिइरहेका बेला पहिलो पटक एकै दिन३ लाख बढी कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । शनिवार २४ घण्टामा ३ लाख ८ हजार ५२२ जना कोरोना संक्रमित निको भएका हुन्।

शनिबार नै भारतमा थप ३ लाख ९२ हजार ४५९ नयाँ संक्रमित थपिएका छन्। तर मृत्यु दर भने बढिरहेको छ। शनिबार मात्रै ३ हजार ६ सय ८४ जनाले ज्यान गुमाएका छन्।

यसअघि शुक्रबार सर्वाधिक ४ लाख १ हजार ९११ कोरोना संक्रमित भेटिएका थिए। यो विश्वको कुनै पनि देशमा एकै दिन भेटिएको संक्रमितको सबैभन्दा ठूलो संख्या हो।

यति मात्रै होइन, यो तथ्यांक सबैभन्दा धेरै संक्रमित भेटिएको अमेरिकामा भेटिएका नयाँ बिरामीको सात गुणा बढी हो। शुक्रबार अमेरिकामा ५८ हजार ७०० नयाँ संक्रमित भेटिएका थिए। विश्वभर भेटिएका ८ लाख ६६ हजार संक्रमितमध्ये भारतमै लगभग आधा अर्थात् ४६ प्रतिशत रहेका छन्।

मृतकको तथ्यांकको पनि कुरा गर्ने हो भने भारतमै सबैभन्दा धेरै छन्। विश्वमा कोरोनाले १४ हजार २ सय ८५ जनाको ज्यान जाँदा भारतमा शुक्रबार ३ हजार ५२१ जनाको मृत्यु भएको थियो।

अर्थात पछिल्लो २४ घण्टामा विश्वभर भएका ज्यान गुमाउने हरेक ४ मा एकजना भारतीय छन्। भारतमा सबैभन्दा धेरै मृत्यु महाराष्ट्रमा भएको छ। जहाँ ८२८ जना संक्रमितले ज्यान गुमाएका छन्।

प्रतिक्रिया