१० मुलुकको उडान रोक्ने सरकारको तयारी, आन्तरिक उडान पनि बन्द गर्न सिफारिस


काठमाडौं – मुलुकभित्र कोरोनाको संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाभाइरसबाट अति प्रभावित १० मुलुकबाट नेपालसँग हुने सीधा अन्तराष्ट्रिय उडानमा रोक लगाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।

पर्यटनमन्त्री भानुभक्त ढकालले कोरोना अतिप्रभावित मुलुकहरु भारत, अमेरिका, बेलायत लगायतका दस मुलुकबाट हुने उद्गम स्थलको उडानलाई रोक लगाउन सिफारिस गरिएको बताए । उनका अनुसार ट्रान्जिट हुँदै आउने विमानमा भने यो नियम लागु हुनेछैन ।

सीसीएमसीको शुक्रबार बेलुका बसेको बैठकले कोरोनाको संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक उडान पनि बन्द गरौं भन्ने प्रस्ताव भएको मन्त्री ढकालले बताए ।

सीसीएमसीले गरेका सिफारिस मन्त्रिपरिषद्को आगामी बैठकले पारित गर्ने र त्यसपछि कार्यान्वयनमा जाने बताइएको छ । भाइरसबाट अति प्रभावित भारतबाट हुने उडानमा रोक लगाउनुपर्ने सुझाव विज्ञहरुमा दिँदै आएका थिए । बैठकले भारतसँगका २२ नाका बन्द गर्न पनि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।

प्रतिक्रिया