राखेप बोर्ड सदस्यमा खनाल नियुक्त
काठमाडौं – युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा गोपाल खनाललाई नियुक्त गरेका छन् । मन्त्री विश्वकर्माले खनाललाई उद्योग वाणिज्य महासंघको सिफारिसमा नियुक्त गरेका हुन् ।
राष्ट्रिय खेलकुद विकास ऐन अनुसार परिषद्को बोर्ड सदस्यमा उद्योग वाणिज्य महासंघको सिफारिसमा परिषद् अध्यक्षले एक जना मनोनयन गर्ने व्यवस्था छ ।
खनाल उद्योग वाणिज्य महासंघको क्लस्टरबाट बोर्ड सदस्य बनेका हुन् । अर्घाखाँची स्थायी घर भएका उनी हाल महासंघको कार्यसमितिमा रहेका छन् । मेगा बैंकका सञ्चालक समिति सदस्य रहेका खनाल शिक्षा क्षेत्रसँग पनि जोडिएका छन् ।
बोर्ड सदस्यमा नियुक्त भएपछि खनालले खेलकुदलाई अघि बढाउने सन्दर्भमा नीजि क्षेत्रलाई खेलकुद ऐनमा समेट्ने सरकारको निर्णय स्वागत योग्य रहेको बताए । उनले खेलकुदको विकासमा नीजि क्षेत्रले खेल्ने भूमिका सहयोगी हुने धारणा ब्यक्त गरे ।
‘खेलकुद ऐनमै नीजि क्षेत्रलाई समेट्ने सरकारको निर्णय स्वागत योग्य छ । खेलकुदमा नीजि क्षेत्रले खेल्ने भूमीका सहयोगी रहन्छ । सरकारले जसरी खेलकुदलाई अघि बढाउन खोजेको छ, त्यसमा नीजि क्षेत्रको सहयोग हुनेछ,’ उनले भने ।