नेपाल सुपर लिगः काठमाडौं र पोखराले खेले गोलरहित बराबरी


काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्स र पोखरा थन्डर्सले बराबरी खेल्दै अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा काठमाडौं र पोखराले गोलरहित बराबरी खेलेका हुन्।

दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य बनेका हुन्। काउन्टर अट्याकलाई रणनीति बनाएको काठमाडौंले दोस्रो हाफमा पाएका थुप्रै अवसरलाई सदुपयोग गर्न सकेन।

यस बराबरीसँगै पोखराले तीन खेलमा चार अंक जोडेको छ। काठमाडौंले पनि तीन खेलबाटै चार अंक बनाएको छ।तालिकामा पोखरा तेस्रो र काठमाडौं चौथो स्थानमा छन्। लिगको शीर्ष स्थानमा भने बुटवल लुम्बिनी रहेको छ। दोस्रो स्थानमा धनगढी एफसी छ।

शुक्रबार भएको खेलको इमर्जिङ प्लेयर अफ दी म्याच काठमाडौंका राजन गुरुङ बने। उनले १० हजार नगद पुरस्कार प्राप्त गरे। यस्तै प्लेयर अफ दी म्याच पोखरा थन्डर्सका पद्म मोक्तान घोषित भए। उनले नगद २५ हजार पुरस्कार पाए।

सात टोली सहभागी प्रतियोगिताका शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउने छन्। जेठ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले ३५ लाख रुपैयाँ पुरस्कार पाउनेछ।

यस्तै उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको विधागततर्फका उत्कृष्टले जनही एक लाख रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया