पशुपतिमा बा’को अन्तिम बिदाइमा एक्लै पवन


File Photo

काठमाडौं – कोरोनाभाइरस (कोभिड–१९) को कारण १५ वैशाखमा दाङ तुलसीपुरका केशरबहादुर डाँगीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भयो। १५ गते मृत्यु भएपनि उनको दाहसंस्कार आजमात्र भएको छ।

६६ वर्षीय केशरबहादुरको अन्तिम दाहसंस्कारमा पशुपतिमा गरिएको हो। उनको अन्तिम बिदाइ गर्न परिवारका माइला छोरा पवनमात्रै उपस्थित हुन सके। परिवारका अन्य सदस्य दाङमै रहेकाले बा’को अन्तिम बिदाइ गर्न पवन पशुपतिमा एक्लै पुगेका थिए।

कालो झोला भिरेर पशुपति पुगेका पवनले विद्युतीय शवदाहगृहको गेट बाहिरबाटै एउटा माला अर्पिएर रामराम लेखेको रुमाल भिकेर मरेका बा’को छातीमा राखिदिए। धूप सल्काउन मात्रै उनलाई अर्कैले साथ दिए।

त्यसपछि खल्तीबाट मोबाइल झिकेर बा’को अन्तिम तस्बिर लिए। चाहेर पनि उनले नजिक गएर बा’को मुख हेर्न पाएनन्।

श्रद्धाञ्जली सकिएपछि सेनाको टोलीले अलि पर लगेर दुबो चढाएर सलामी दियो। र, अन्तिम संस्कारका लागि सेनाले शवलाई विद्युतीय शव दाहगृहभित्र लग्यो।

एक्लै रहेका पवनलाई सान्त्वना दिने कोही पनि थिएनन्। त्यसपछि उनी भित्तामा आड लागे। उनको आँखाबाट आँशु बगिरहेको थियो।

घरमा आमा, दाइभाई र तीन दिदीबहिनी हुँदाहुँदै पनि कोरोना महामारीको कारण दाङबाट काठमाडौं आउन सहज थिएन। उसो त कोरोनाका कारण केशरबहादुरको शव पनि गाउँ लैजान सम्भव थिएन। परिवारकै सल्लाहमा केशरबहादुरको अन्त्येष्टी पशुपतिमा गरिएको हो।

पवन काठमाडौंमा एक्लै कोठाभाडा लिएर बस्दै आएका थिए।

०००००

स्वर्गीग. केशरबहादुर ७ वैशाखमा जहाजबाट काठमाडौं आएका हुन्। काठमाडौं आउने बित्तिकै उनलाई सास फेर्न गाह्रो भयो। लगत्तै ह्याम्स अस्पताल भर्ना गरियो। ह्याम्सले मेडिसिटी रिफर गर्यो। सोहीबेला कोभिड परीक्षण गर्दा पोजिटिभ देखिएको हो।

पवनका दाइ आर्मी भएकाले त्यसपछि केशरबहादुरलाई सैनिक अस्पताल रिफर गरियो। सैनिक अस्पतालमै उपचारकै क्रममा कोभिड लागेका केशरबहादुरले १५ गते यो संसारबाटै बिदा भए।

केशरबहादुर दमको नियमित औषधि सेवन गर्नुपर्ने दीर्घरोगी थिए।

प्रतिक्रिया