जसपा हस्ताक्षरपत्रमा किर्तेको आशंका, क्रम संख्याभन्दा माथि कसरी आयो बाबुरामको नाम?


काठमाडौं– जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी चार जनालाई कारबाही गर्ने केन्द्रीय कार्यकारीणिका बहुमत सदस्यको हस्ताक्षरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नाम किर्तेगरी राखिएको आशंका उब्जिएको छ।

एकीकरणपछि संघीय परिषद अध्यक्षको जिम्मेवारी नदिँदा र वरियताक्रम नटुंगिएको बेलाकै नामलिष्ट तयार पारी हस्ताक्षर संकलन गरेको आशंका गरिएको छ।

जसपामा महन्थ ठाकुर पक्षलाई थाहा नै नदिई लुम्बिनी प्रदेश सभा सचिवालयमा बहुमतको नाममा २६ जनाको हस्ताक्षर रहेको पत्र पठाइएको थियो। उक्त पत्रमा चार सांसदलाई पदमुक्त गर्न र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावमा जाने विषय उल्लेख गरिएको छ भने बैठक केन्द्रीय कार्यकारीणि समितिको भनिएको छ।

तर बाबुरामको नाम भने क्रमसंख्या भन्दा माथि राखिएको छ। उनको हस्ताक्षर भएको नामसहितमा क्रमसंख्या नहुनु संकास्पद भएको बताइएको छ।

‘केन्द्रीय कार्यकारीणि समितिको बैठक बस्ने विषयमा कुनै सहमति भएको छैन, बसेको पनि छैन। कसरी हस्ताक्षर हुन्छ’, ठाकुरनिकट एक नेता भन्छन्,‘यो सबै किर्ते काम हो, लुम्बिनीका चार सांसद मन्त्री भएकोमा हामीले स्वागत गरेका छौं। फेरि हाम्रो सहमतिबिना कारबाही हुँन सक्तैन।’

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने क्रममा साथ दिएका जसपाका चार जना पछि फिर्ता लिएर मन्त्रीमण्डलमा सामेल भएका थिए।

सन्तोषकुमार पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (क) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(क) बाट प्रत्यक्ष निर्वाचित सांसद तथा  सुमन शर्मा रायमाझी र कल्पना पाण्डे  समानुपातिक सांसद सरकारमा सहभागी भएपछि ठाकुर पक्षले स्वागत गरेको थियो। तर उपेन्द्र यादव समूहले पनि कारबाही गरेको पत्र नै पठाएको दाबी गरेको छ। उक्त पत्र र बैठकका निर्णयमा आशंका सुरु भएको छ।

 

प्रतिक्रिया