भारतबाट फर्किएकी १ वर्षीया बालिकासहित सुदूरपश्चिममा चार संक्रमितको मृत्यु
धनगढी – सुदूरपश्चिममा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामकी एक वर्षीया बालिकासहित कैलाली र कञ्चनपुरका छन् ।
६ दिन पहिले अभिभावकसँगै भारतबाट स्वदेश फर्किएकी अछामको कमलबजार नगरपालिका ७ की एक वर्षीया बालिकाको स्थानीय बलयपाटा अस्पतालमा बिहीबार साँझ मृत्यु भएको छ ।
त्यस्तै बिहीबार साँझ नै कञ्चनपुरको महाकाली अस्पताल भर्ना भएका जिल्लाको भीमदत्तनगरपालिका १८ का ४१ वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिका ५ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
आईसीयूमा उपचार गराईरहेकै क्रममा उनीहरुको मृत्यु भएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले बताए । उनीहरु दुवै जनामा निमोनियासमेत देखिएको थियो ।
यसैगरी धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ८ का ४५ वर्षीय संक्रमितको पनि गएराति मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बैशाख १५ गते अस्पताल भर्ना भएका उनको राति करिब साढे ९ बजेको मृत्यु भएको जानकारी दिए । श्वासप्रश्वास सम्बन्धी समस्या भएका ती संक्रमितमा कडा खालको निमोनिया रहेको पनि श्रेष्ठले बताए ।