कतारबाट फर्किएका पदमको बयान– श्रीमतीको चरित्र ठिक पाइँन, त्यसैले हत्या गरें

होटलमा काम नगर्न भनेको थिएँ, छाड्न आउने स्कुटरका युवासँग चुम्मा गरेको देखें


दाङ– तुलसीपुर उपमहानगरपालिका–७ श्रीगैंका २६ बर्षीय पदम पोखरेलले श्रीमतीको चरित्र ठिक नपाएपछि ढुंगा प्रहार गरी आवेगमा हत्या गरेको बयान दिएका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मंगलबार राति साढे ९ बजेतिर पोखरेलले २५ बर्षीया श्रीमती बिपना रेग्मीको हत्या गरेका थिए। हत्या पछि फरार रहेका उनलाई प्रहरीले राति १२ बजेतिर तुलसीपुरको ग्वारखोलाबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका पदमले आफ्नी श्रीमतीको चरित्र ठिक नभएको बयान दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंह बताए ।

‘पक्राउ परे लगतै ति व्यक्तिले श्रीमतिको चरित्रमाथि दोषारोपण गर्न खोजेका छन्’, डिएसपी सिंहले भने ‘घटनाबारे बिस्तृत रुपमा अनुसन्धान हुन बाँकी छ ।’

पदम केही दिन अघि मात्रै कतारबाट घर फर्किएका थिए ।

पदमका अनुसार हत्या गरिएकी श्रीमती तुलसीपुरको बस पार्कस्थित एक होटेलमा काम गर्दै आएकी थिइन्।

उनले बिदेशबाट समेत होटेलमा काम नगर्न आग्रह गर्दै आएको तर श्रीमतीले नमानेको भन्ने कुरा पदमले प्रहरी समक्ष बयान दिएको डिएसपी सिंहले बताए। त्यो कुरा पदमलाई ब्यक्तिगतरुपमा मन नपरेको र पछि आबेगमा आएर हत्या गरेको आरोपितले स्विकार गरेको प्रहरीको दाबी छ ।

‘घटना भएको दिन पनि आफ्नी श्रीमतिलाई छोड्न राती एउटा स्कुटर आएको र त्यो स्कुटरमा आउने युवासँग बाटोमै उनीहरुले चुम्मा खाएको आफुले देखेको दाबी पदमको छ,’ डिएसपी सिंहले भने,‘त्यही कारण डेरातर्फ गइरहेका पदम र उनकी श्रीमतीको बाटोमै बिबाद हुँदा घटना भएको पदमको दाबी छ।’

घटना भन्दा दुई दिन अगाडि यस्तै कुराको बिबाद पछि पदम घरबाट निस्किएर गएका थिए । श्रीमान श्रीमतीबीच बाटोमै बिबाद भएपछि आवेगमा आएर सुरुमा श्रीमती बिपनाले श्रीमान पदमलाई सडकको ढुंगा टिपेर प्रहार गरेको भए पनि उनलाई नलागेको र त्यसपछि आफुले पनि सडकै ढुंगा उठाएर आक्रमण गरेको पदमको भनाई छ।

बिदेशबाट घर फर्किएपछि पदमले एक हप्ता अगाडि मात्रै श्रीमतीको आग्रहमा श्रींगैमा कोठा भाडामा लिएर बस्न थालेको खुल्न आएको प्रहरीले बताएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र हत्या अभियुक्तलाई ज्यान मुद्दा चलाएर कारवाही सुरु हुने जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए।

प्रतिक्रिया