कोरोनाविरुद्धको खोप लगाउनेको अनियन्त्रित भिड, त्यहिँबाट संक्रमण बढ्ने चिन्ता


काठमाडौं– उपत्यकामा कोरोनाभाइरसविरुद्ध चिनियाँ खोप लगाउनेको अनियन्त्रित भिडभाड देखिन थालेको छ। भिडभाडका कारण त्यहिँबाट कोरोना संक्रमण सर्ने डर भएको विज्ञहरु समेत बताउँछन्।

सरकारले १८ वर्षदेखि ५९ वर्षसम्मका व्यक्तिलाई आइतवारदेखि उपत्यकामा भेरो सेल खोपको पहिलो मात्रा दिन सुरु गरेको थियो। चिनियाँ सरकारले भेरो सेल खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा उपलब्ध गराएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार उपत्यकाका तीन जिल्लाबाहेक नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक र रसुवा जिल्लामा चिनियाँ खोप वितरण भइरहेको छ।

कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण व्यापक भएपछि सर्वसाधारण त्यससँग लड्न खोप केन्द्रमा धाइरहेका छन्। तर खोप लगाउनको ठाउँमा भने अनियन्त्रित भिडभाड छन्। सामाजिक दूरी छैन भने कतिपयले मास्क समेत प्रयोग गरेका छैनन्।

स्थानीय प्रशासनहरूले बिहीवार बिहानदेखि लागु हुनेगरी उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गरेपछि मंगलबार भिडभाड थियो। बुधबार पनि उक्त भिड हुने अनुमान गरिएको छ।

नेपाल प्रहरी अस्पताल पानीपोखरी, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर र हिमाल अस्पताल ज्ञानेश्वरलगायतका ठाउँमा व्यापक भिड थियो।

बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म नेपाल प्रहरी अस्पताल पानीपोखरीमा लाइन बसिरहेका पत्रकार लेनिन बञ्जाडेले ‘बरु अरू अस्पतालमा अलिअलि व्यवस्थित होला। यहाँ त कुम्भमेलाजस्तै’ बताएको बीबीसी नेपालीले उदृत गर्दै लेखेको छ,‘प्रहरीको छुट्टै लाइन छ। उनीहरूको आफ्नै लाइन पनि व्यवस्थित हुनसकेको देखिन्न।’

नाम खुलाउन नचाहने जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने एक युवक भिडलाई पन्छाउन भन्दै नजिकका खोप केन्द्र नगई लेलेस्थित आनन्दवन खोप केन्द्रमा पुगे। तर त्यहाँ पनि उनले उस्तै अवस्था पाए। दुई घण्टाभन्दा बढी समय लाइन बसेपछि उनले खोप लगाउन पाए।

‘भिड त्यस्तै थियो। खोप लगाउनेबीच सामाजिक दूरी पनि थिएन। कोही कोही चिउँडोमा मास्क लगाएका भेटिए। लाइन नै सरिरहेको थिएन।’

खोप लिनेहरूको लामो लाइनका कारण ज्ञानेश्वरस्थित हिमाल अस्पतालनजिकैको क्षेत्रमा पनि त्यस्तै भद्रगोल देखियो। त्यहाँको लाइनको अवस्थालाई पनि कुम्भमेलासँग दाँज्दै एक चिकित्सक अनिल बरालले ट्वीट गरेका छन्।

उनको भनाइ छ, ‘आज बिहान हिमाल अस्पतालमा खोप लगाउनेहरूको लाइन देख्दा कुम्भकै झल्को आएको थियो। सबै स्वास्थ्यसंस्थाबाट दिन मिलाउन नसकिने रहेछ? नत्र त्यो टुँडिखेलमै गरे पनि हुन्थ्यो होला नि!’

लाइन व्यवस्थापनमा खटिएकाहरूको आफ्नै गुनासो छ। चाहेर पनि व्यवस्थित गर्न नसकिएको उनीहरूको तर्क छ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा खटिएकी एक स्वयंसेविका लबिशा बस्नेत जति सम्झाए पनि मानिसहरूले नटेरेको बताउँछिन्।

‘सम्झाउँदा पनि ठेलमठेल गर्छन्। माइकिङ गरेर भन्दा पनि केही लाग्दैन’, उनले थपिन्। उनका अनुसार टेकु, जडीबुटी, जोरपाटीसम्मका मानिसहरू उक्त केन्द्रमा खोप लगाउन पुगेका छन्।

नेपालमा पनि कोरोनाभाइरसका निकै संक्रामक मानिएका यूके भेरियन्ट र डबल म्यूटन्ट देखिएको पुष्टि भइसकेको पृष्ठभूमिमा विशेष सर्तक हुनुपर्ने चिकित्सकहरूको सुझाव छ।

खोप लगाउन लाइन बस्ने क्रममा पर्याप्त सावधानी नअपनाइए सङ्क्रमण फैलने सम्भावनालाई नकार्न नसकिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोला बताउँछन्।

‘खुला ठाउँमा लाइन भएकोले लाइन बस्नेहरूले यदि सामाजिक दूरी कायम गरेका छन् र मास्क लगाएका छन् भने सङ्क्रमित हुने सम्भावना खासै हुन्न।’

‘तर मानिसहरूले यदि दूरी पनि कायम गरेका छैनन् र नाक मुख छोपिनेगरी मास्क पनि राम्ररी लगाएका छैनन् भने लाइनबाटै सर्ने सम्भावना रहन्छ’, उनले थपे।

सरकार र नागरिक दुवै पक्षबाट कमजोरी भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी औँल्याउँछन्।

‘सरकारले पनि थिति बसालेको भए र नागरिकले पनि सामान्य कुरालाई पालना गरेको भए हुन्थ्यो। यसरी भिडभाड गर्दा सङ्क्रमण फैलिने कुरा त अपेक्षित नै छ’, मरासिनीले भने।

प्रतिक्रिया