

आज मन्त्रिपरिषद बैठक, तीन साता लकडाउन वा निषेधाज्ञाको निर्णय लिने तयारी

काठमाडौं– कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले महामारीको भयावह अवस्था हुन नदिन सरकारलाई कम्तिमा तीन साता लकडाउन या निषेधाज्ञा गर्नुपर्ने सिफारिस गरेपछि आज मन्त्रिपरिषद बैठक डाकिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा हुन लागेको बैठकले सीसीएमसीको सिफारिसका आधारमा निर्णय लिने बताइएको छ। तत्काल देशव्यापी रुपमा पूर्ण लकडाउन नगर्ने बताइए पनि हटस्पट र सहरी क्षेत्रमा निषेधाज्ञा, स्वास्थ्य सुरक्षाको मापदण्डमा कडाईलगायतका विषयमा मन्त्रिपरिषदको खास निर्णय आउने बताइएको छ।
कोभिड–१९ का कारण छिमेकी भारतमा भयावह अवस्था आएपछि सीमा नाकामा पनि कडाई गर्ने निर्णय मन्त्रिपरिषदले गर्ने स्रोतले जनाएको छ। भारतमा अक्सिजन कमी भउपछि उसले अमेरिकासँग सहयोग माग गरेको थियो। नेपालमा पनि अक्सिजनको कमी भएका कारण भारतसँग सहयोगका लागि पत्र काटिएको विवरणमा आएका छन्।

