उज्यालो नेटवर्कका कार्यकारी सम्पादक तामाङ पक्राउ


काठमाडौं- अनलाईन समाचार पोर्टल उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ पक्राउ परेका छन् । प्रहरीले समाचार प्रकाशनको विषयलाई लिएर कार्यालयमा धरपकड गरी उच्च अदालतको अन्तरिम आदेश विपरीत उनलाई पक्राउ गरेको उज्यालो नेटवर्कका प्रधान सम्पादक बुद्ध लोप्चनले बताए ।

साथै कार्यालयबाट क्यामेरा, मोबाइल, कम्प्युटरसहित सञ्चार सामग्री जफत गरिएको उनले बताए। लोप्चनले एका(एक कार्यालय प्रवेश गरेर प्रहरीले आफूमाथि धरपकड गरेको दाबी गरेका छन्।

प्रेस काउन्सिलमार्फत निरूपण भइसकेको विषयलाई लिएर प्रहरीले आफूहरूमाथि अत्याचार गरेको उनको भनाई छ। उच्च अदालतबाट पक्राउ नगर्न अन्तरिम आदेश जारी भइसकेको अवस्थामा उज्यालो नेटवर्कको कार्यालयमा प्रहरी प्रवेश गरेर धरपकड गरिनु विडम्बना भएको लोप्चनले बताएका छन्।

केही समय पहिले उज्यालो नेटवर्कले ‘रअ प्रमुख र ओलीबीच लिपुलेकको कुरा नउठाउनेदेखि एमसीसीमा मोदीले साउनेसम्मको सहमति (पत्रसहित)को समाचार सार्वजनिक गरेको थियो। असावधानीका कारण उक्त समाचार प्रकाशित हुन गएकोले उज्यालो नेटवर्कले क्षमासमेत मागेको छ।

उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘प्रेस काउन्सिलमार्फत निरूपण भैसकेको विषय र सम्मानित उच्च अदालतबाट पक्राउ नगर्न अन्तरिम आदेश जारी भैसकेको अवस्थामा उज्यालो नेटवर्कको कार्यालयमा प्रहरी आएको छ। हाम्रा कार्यालयका साथीहरूलाई नियन्त्रणमा लिनुका साथै क्यामेरा, मोबाइल, कम्प्युटरसहित सञ्चार सामग्री जफत गरिएको ब्यहोरा जानकारी गराउन चाहन्छु। आम श्रमजीवी पत्रकारहरूसहित न्याय प्रेमी जनसमुदायलाई खड्ग ओलीको अत्याचारविरुद्ध उठ्न विशेष अपिल गर्दछु।’

तामाङको पक्राउको नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति, प्रेस युनियन काठमाडौंले भर्त्सना गर्दै तत्काल रिहाईको माग गरेको छ ।

 

प्रतिक्रिया