

आईपीएल २०२०ः मुम्बईविरुद शानदार जित हात पार्दै हैदराबाद प्लेअफमा

युएई । आईपीएलको शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्सलाई हराउँदै सनराइजर्स हैदराबाद प्लेअफमा पुगेको छ ।
युएईमा जारी १३औँ संस्करणको आईपीएल टी–ट्वान्टी क्रिकेट अन्तर्गतको लिगको अन्तिम एवं निर्णायक मानिएको खेलमा मुम्बई इण्डियन्समाथि १० विकेटको शानदार जित निकाल्दै हैदराबाद प्ले अफमा पुगेको हो ।
मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।
हैदराबादको जितमा डेभिड वार्नर ५८ बलमा १० चौका र १ छक्का प्रहार गर्दै अविजित ८५ रन बनाए । साहा ४५ बलमा ७ चौका र १ छक्कासहित ५८ रनमा अविजित रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।
मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाए । यस्तै सूर्यकुमार यादबले ३६ रन जोड्दा इशान किसनले ३३ रन जोडे । क्विन्टन डी कक २५ रनमा आउट भए ।
मुम्बईलाई सस्तैमा रोक्न हैदराबादका सन्दीप शर्माले ३ विकेट लिए । जासन होल्डर र साहबाज नादिमले २/२ विकेट लिए ।
जितसँगै हैदराबाद तेस्रो स्थानमा रहँदै प्ले अफ स्थान बनाएको हो । हैदराबादले १४ खेलमा १४ अंक जोड्यो ।
हैदराबाद प्ले अफमा पुगेसँगै कोलकाता पनि लिग चरणबाटै बाहिरिएको छ । समान १४ अंक नै भए पनि कोलकाता रनरेटमा पछी पर्दै बाहिरिएको हो ।
क्वालिफायरमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स खेल्ने भएका छन् भने प्लेअफमा हैदराबाद र रोयल च्यालेन्जर्स बैंग्लोरबीच खेल हुनेछ ।
मुम्बई र दिल्लीबीचको विजेता सिधै फाइनल पुग्नेछ भने पराजित टिम हैदराबाद र आरसिबीको विजेताबिच खेल्नेछ, त्यसखेलमा जित हात पार्ने टिम फाइनल प्रवेश गर्नेछ ।

