

हामी एमालेमा टाँस्सिएका होइनौं, निर्वाचित पदाधिकारी हौं : नेता रावल

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले आफूहरु नभई ओली नै पार्टी फुटाएर जान लागेको बताउँदै ‘पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्ने बताए । उनले भने ‘ओलीजी पार्टी फुटाएर जाँदै हुनुहुन्छ,’रावलले भने, ‘पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौँ ।’
नेता रावलले आफूहरु कुनै हालतमा एमालेबाट नभाग्ने स्पष्ट पारे । कसैको धम्कीबाट नडराउने बताउँदै एमालेको आफूहरु निर्वाचित पदाधिकारी भएको बताए । नवौं महाधिवेशनको म्यान्डेट अनुसार ओली अध्यक्ष भएको र आफूहरु पनि पदाधिकारी भएको उनले बताए । रावलले भने, ‘हामी नेकपा एमालेमा टाँस्सिएका होइनौं, निर्वाचित पदाधिकारी हौं ।’ कुनै व्यक्तिले हटाउँदैमा आफूहरुको सांसद पद नजाने रावलले जिकिर गरे ।
आफूहरुले अलग पार्टी बनाएको आरोप हाँस्यास्पद भएको समेत उनको भनाई थियो । उनले भने, ‘अलग पार्टी चलाएको र सञ्चालन गरेका छैनौं ।’ ओलीले सहमतिका लागि भन्दै माधवकुमार नेपालसँग गरेको दुई चरणको भेटलाई भ्रम छर्ने रणनीतिको संज्ञा रावलले दिए । कार्यकर्तामाझ मिलाउन खोजेको थिएँ भनि भ्रम छर्न ओलीले नेताहरुसँग पछिल्लो समय भेटवार्ता गरेको उनले सुनाए ।
सांसद पद जाने गरी विधि विधान विपरित कार्य नगरेकाले अध्यक्ष ओलीले पदमुक्त गर्न नसक्ने उनले तर्क गरे । ‘कुनै व्यक्तिले हटाउँदैमा हाम्रो सांसद पद जाँदैन’ ओलीलाई चुनौती दिँदै रावलले भने, ‘सांसद पदबाट मुक्त हुन संविधानले स्पष्ट रुपमा विधि तोकेको छ भन्ने हेक्का होस् ।’
सहमतिका लागि २ जेठ २०७५ को अवस्थामा नेकपा एमालेको संरचनालाई सक्रिय बनाउनुको विकल्प नभएको उनको भनाई थियो ।

