‘सरकार जनताको सुरक्षा गर्नभन्दा पनि आफ्नो सत्ता जोगाउन तल्लिन’


काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार कोरोना संक्रमण नियन्त्रणमा लागी नपरेको बताएका छन् ।

बिहिवार काठमाडौंमा भएको एक कार्यक्रममा नेता सिंहले कोरोना संक्रमणले देशमा भयावह स्थीति आउन नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताउँदै सरकार कोरोना संक्रमण नियन्त्रणमा उदासिन भएको आरोप लगाएका छन् ।

सरकार कोरोना नियन्त्रणमा लाग्नुपर्ने बेला अनावश्यक रुपमा शिलान्यास कार्यक्रम गरी जनतामा भ्रम सिर्जना गर्नतिर लागेको उनको दाबी थियो। नेता सिंहले कोरोनाका कारणले कोही नेपालीले दुख भोग्नुपर्ने अवस्था आउन नदिन सरकारलाई आग्रहसमेत गरे। सरकार नेपाली जनताको स्वास्थ्यको सुरक्षा गर्नभन्दा पनि आफ्नो सत्ता जोगाउन लागी परेको नेता सिंहको तर्क थियो।

देशमा भएका अस्पतालहरुको क्षमता बढाउदै लग्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘दोस्रो चरणको कोरोना भाइरस नेपालमा भित्रिसकेको छ। रोकथामका लागि तत्काल सरकारले प्रभावकारी कदम चालोस्।’ राजधानीका ठुला अस्पतालहरुमा भएका अक्सिजन प्रान्टसमेत संचालन हुन नसकेको समाचार सुन्दा अचम्म लागेको भन्दै तत्कालै जनस्वास्थ्यका विषयमा ठोस कदम चाल्नसमेत सरकारलाई आग्रह गरेका छन्।

साथै कार्यक्रममा नेता सिंहमार्फत इसान प्रसाई स्मृति समाजले अटिजम भएका बालबालिकालाई नगद एक लाख एघार हजार रुपैयाँ सहयोग रकम प्रदान गरेको छ।

प्रतिक्रिया