

सडक व्यापारले धानेको जीवन: ग्राहकले खाए पेट भरिन्छ

देउखुरी – घामको तातो एकातिर, आगोको राप अर्कातिर । शरीर पसिनाले भिजेको छ, हत्केलामा चिम्टा समाउँदा ठेला परेका छन् । कोइला र खरानीले मुहारमा दाग देखिन्छ । लमही नगरपालिका-५ निवासी प्रेमा वली यस्तै दैनिकीका साथ पाँच वर्षदेखि लमही बसपार्कको छेउमा मकै पोलेर बेच्दै आएकी छन् । साठी वर्षीया वलीले आफ्नै पाखुरीले कमाएको पैसाबाट जीवन चलाएकी छन् । श्रीमान्ले दोस्रो बिहे गरेर अलग्गै बस्न थालेदेखि आफ्ना दुःखका दिन शुरु भएको उनी बताउछिन् ।
दाङको देउखुरी क्षेत्रमा बाह्रै महिना मकैखेती हुन्छ । उनको मकै व्यापार पनि बाहै्र महिना हुन्छ । तातो घाममा आगोको रापमा पसिनाका धारा पुछ्दै मकै पोलेको कमाइबाट छोरालाई १२ कक्षासम्म पढाएको उनी बताउछन् । ‘मेरो सहारा भनेको त्यही एउटा छोरो हो । दुःखसुख गरेर छोराले पढेको छ, उसले राम्रो काम पाए त दुई चार रुपैयाँ कमाउँथ्यो तर भने जस्तो काम पाइँदैन’, उनले भनिन्, ‘गरिबको त सहारा पनि कोही हुँदो रहेनछ ।’
उनले बिहान किसानले बेच्न ल्याएको मकै खरीद गरेर बेलुकासम्म बेच्ने गर्छिन् । दिनमा १०० वटा जति मकै बिक्री हुने गरेको उनी बताउछिन् । पोलेको एउटा मकै रु २५ मा बिक्री हुन्छ भने काँचो मकै बेच्दा रु २० मा बिक्री हुन्छ ।
घोराही उपमहानगरपालिका-१८ निवासी भीमीदेवी मल्ल सडकको किनारामा मकै पोलेर दैनिकी चलाउछिन् । उनी तातो घाम होस्, चाहे पानीको झरी किन नहोस्, आगोमा मकै पोली बटुवालाई कुरेर बसेको भेटिन्छ । उमेर ७१ वर्ष भयो तर पनि दुुःखले उनलाई छाडेको छैन । घोराहीको व्यस्त सडक माध्यमिक विद्यालय रझेना जाने बाटोको छेउमा पीपलको चौतारीमुनि मकै पोलेर आफ्नो गुजरा चलाएकी छिन् । आम्दानीको स्रोत नभएपछि मकै पोलेर भएको दुई चार रुपैयाँले खर्च चलाएको उनी बताउछन् । बिहानको खाना खाएर मकै खोज्न गाउँतिर जाने र दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म मकै पोल्ने गरेको उनले बताइन् ।
घर खर्च र बिरामीले थला परेका श्रीमान्को उपचार खर्च मकै पोलेर आएको पैसाबाट चलेको उनले बताइन् । उनका श्रीमान् दानबहादुर मल्ल दुई वर्ष अगाडिदेखि उच्च रक्तचापका कारण बिरामी छन् । हातगोडा चल्दैनन् । काम गर्न सक्दैनन् । दिनरात विछ्यौनामा ढलिरहन्छन् । श्रीमान्को औषधि खर्च र खाने खर्च सकिएपछि काममा हिँडेको भिमी बताउछिन् । उनका दुई छोरा र एक छोरी छन् । गत वर्ष कोरोनाको मध्य समयबाट जीविका चलाउन मकै पोलर बेच्न थालेको यस वर्ष पनि सोही व्यापार चलिरहेको छ ।

