मास्क नलगाए सार्वजनिक सवारी र कार्यालयमा प्रवेश निषेध, स्कुल र कलेजका परीक्षा नरोकिने


काठमाडौं – सरकारले कोभिड संक्रमण नियन्त्रणका लागी मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पास गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक सवारीमा मास्क अनिवार्य गरिएको छ । मास्क नलगाउनेलाई भने सार्वजनिक सवारीमा चढ्न नदिने निर्णयमा उल्लेख छ ।

सिट क्षमता बराबर मात्र यात्रु राख्न पाइने र कुनै यात्रु मास्क नलगाइ आएमा बढीमा १० रुपैयाँ लिएर सवारी चालकरसहचालकले मास्क उपलब्ध गराउनु पर्नेछ ।

यस्तै सार्वजनिक कार्यालय, डिपार्टमेन्ट स्टोर तथा सपिङ मलहरुमा पनि मास्क अनिवार्य गरिएको छ । मास्क नलगाउनेलाई कार्यालय र पसलमा प्रवेश दिइनेछैन ।

यस्तै कोरोना महामारी रोकथामका लागि सरकारले देशका ४० स्थानीय तहका विद्यालय बन्द गरे पनि विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा भने नरोकिने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा पनि नरोकिने बताए ।

त्यस्तै चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षाहरु पनि जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने गुरुङले बताए ।

प्रतिक्रिया