बल्ल दौरा सुरुवालः एमाले भएपछि बदलिए बादल


काठमाडौं– नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यको पद खोसेपछि आइतबारदेखि रामबहादुर थापा बादलको सांसद पद गुम्यो। सांसदसँगै उनको मन्त्री पद पनि हिँड्यो।

नेकपा एमाले बनिसकेका बादललाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री नियुक्त गर्दै गृह मन्त्रालयको जिम्मेवारी दिइन्।

आइतबार साँझै बादलले शपथ पनि लिए तर भिन्न शैलीमा देखिए उनी। तेस्रो पटक मन्त्रीको शपथ लिँदा भने बादल दौरा सुरुवालमा झुल्किए। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारले तस्बिर राख्दै भने– केही फरक!

केही फरक मात्र नभएर पूरै परिवर्तनमा देखिएका थिए बादल। उनी एमाले बागमती इञ्चार्ज हुन्। पार्टीमा पनि ठूलो जिम्मेवारी पाएका बादल माओवादीको क्रान्तिकारी भनिने पोशाकहेयबाट मुक्त भएका छन्।

‘पोशाकले क्रान्तिकारी नहुँदो रहेछ। विचार र व्यवाहारले नै त्यसको मानक स्थापित गर्दछ। गृह मन्त्रीको विचार क्रान्तिकारी हो, पोशाक भने राष्ट्रियताको प्रतीक हो’, उनी निकट नेता भन्छन्,‘पहिला यहि पोशाक लगाउनेहरूविरुद्धको क्रान्ति थियो र पुष्पकमल दाहाल प्रचण्डले एउटा स्कुलिङ गरे। अब प्रचण्डलाई नै सूर्य चाहिएको थियो भने पोशाकसँग किन प्रश्न?’

०६५ सालमा तत्कालिन मन्त्रिपरिषदमा रक्षा मन्त्रालयको जिम्मेवारी पाउँदा बादलले दौरा सुरुवाल लगाएनन्। बादलले मात्र नभई तत्कालिन प्रधानमन्त्री प्रचण्डलगायत माओवादीका कुनै पनि मन्त्रीले दौरा सुरुवाल लगाएनन्। तर सरकार गठबन्धनमा रहेका एमालेका मन्त्रीले पनि लगाएका थिए।

त्यसबेला बादलहरू भन्थे,‘यो पोशाक भनेकै सामन्तवादको एउटा दोष हो। त्यसैले क्रान्तिकारीहरू दौरा सुरुवाल लगाउँदैनन्।’ तर राजनीतिले कोल्टे फेरेपछि समय, विचार र दलसँगै व्यक्तिमा पनि बदलाव आउने उदाहरण बनेका छन्, उनै बादल।

तीन बर्ष अघि मात्र पनि गृह मन्त्रीको शपथ लिँदा बादलले दौरा सुरुवाल लगाएका थिएनन्। तर, आइतबारदेखि भने उनले दौरा सुरुवाल लगाएर माओवादी केन्द्र छाडेको मात्र नभई, नेता भइसकेको उपयुक्त जनाउ दिएका मान्छन् एमालेका नेताहरू।

प्रतिक्रिया