

आईपीएलः दिल्ली क्वालिफायरमा, आज मुम्बई र हैदराबाद खेल्दै

युएई – दिल्ली क्यापिटल्स १३औं आईपीएल टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आबुधाबीमा सोमबार राति भएको आफ्नो अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो ।
टस जितेर बैंगलोरलाई ब्याटिङको निम्तो दिएको दिल्लीले बैंगलोरलाई १ सय ५२ रनमा सीमित पारेको थियो । त्यसपछि १५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
दिल्लीका लागि आजिक्या रहाणे ६० रन बनाए भने शिखर धवनले ५४ रन बनाए । यस्तै कप्तान श्रेयस एयरले ७ रन जोड्दा पृथ्वी श ९ रनमा आउट भए । मार्कुस स्टोनिस १० र ऋषब पन्त ८ रनमा अविजित रहे ।
बैंगलोरका शाहबाज अहमेदले २ विकेट लिए । वासिङ्गटन सुन्दर र मोहमद सिराजले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।
बैंगलोरका लागि देबदुत पडीकलले ५० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ४ चौका प्रहार गरे । एबी डी भिलियर्स ३५ रन जोड्दा कप्तान विराट कोहलीले २९ रन बनाए । दिल्लीका एनरिच नोर्टजेले ३ विकेट लिए । कागिसो राबडाले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिए ।
जितसँगै दिल्लीले १४ खेलमा १६ अंक जोडेको छ । र, दिल्ली दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुगेको हो । दिल्लीले अब पहिलो क्वालिफायरमा शीर्ष स्थानमा रहँदै प्ले अफ पुगेको मुम्बई इण्डियन्ससँग खेल्नेछ ।
पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्नेछ । चौंथो स्थानको कोलकाता नाइट राईडर्स भन्दा नेट रन रेटले अघि रहेपछि दिल्लीसँग पराजित भए पनि बेंगलोरले प्ले अफमा स्थान पक्का गरेको हो ।
क्वालिफायरमा पुग्ने अन्तिम टिमको टुंगो लिग चरणको अन्तिम खेलले तय हुनेछ । लिग चरणको अन्तिम खेलमा मुम्बई र हैदराबादबीच आज हुनेछ । मुम्बईले जित निकालेमा कोलकाता प्ले अफ पुग्ने छ भने हैदराबादले जित निकालेमा कोलकाता प्ले अफबाट बाहिरिनेछ ।

