प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन, असोज ६ मा गएर ९ मा फर्कने


काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन असोज ६ गते अमेरिकाको न्यूयोर्क जाने भएका छन्।

प्रधानमन्त्री शाहले महासभामा नेपालको तर्फबाट सम्बोधन गर्नेछन्। यसअघि परराष्ट्रमन्त्री शिशिर खनाललाई महासभामा पठाउने तयारी भए पनि भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिपछि प्रधानमन्त्री आफैँ सहभागी हुने निर्णय भएको हो।

महासभामा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीलाई जलवायु परिवर्तनका कारण बढ्दो जोखिमसँग जोड्दै नेपालको अवस्था अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी गरेका छन्। उनले जलवायुजन्य विपद्बाट नेपालले भोगिरहेको क्षति, हिमाली क्षेत्रको जोखिम तथा प्रभावित मुलुकले पाउनुपर्ने अन्तर्राष्ट्रिय सहयोग र जलवायु न्यायको विषय उठाउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहले असोज ८ गते महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको छ।

अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुने ८१औँ महासभामा २२–२६ र २८ सेप्टेम्बरमा अहिलेसम्म १ सय १८ देशका नेताले सम्बोधन गर्ने सूची बनेको छ। जसमा अधिकांश राष्ट्रप्रमुख, सरकारप्रमुख वा विदेशमन्त्री हुनेछन्।

त्यसपछि उनी असोज ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको भ्रमण प्रतिनिधिमण्डल पनि १० जनासम्मको हुने बताइएको छ ।

प्रधानमन्त्री बनेको पाँच महिनामा शाहको यो नै पहिलो विदेश भ्रमण हुनेछ। यद्यपी यो औपचारिक रुपमा अमेरिकाको भ्रमण होइन।

प्रतिक्रिया