
उद्धारका लागि नेपाली सेनाको ३ वटा हेलिकोप्टर बाढीग्रस्त क्षेत्रमा परिचालन
काठमाडौँ – रसुवा भोटेकोशीको बाढीग्रस्त क्षेत्रमा स्वास्थ्यकर्मीसहित नेपाली सेनाका ३ वटा हेलिकप्टर उद्धारका लागि खटाइएको छ ।
बुधबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठकमा उद्धारका लागि सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा बस्न समेत निर्देशन दिइएको छ ।
स्वास्थ्यकर्मीसहित नेपाली सेनाका ३ वटा हेलिकप्टर उद्धारका लागि खटाइएको र निजी क्षेत्रका ३४ वटा हेलिकप्टरलाई अन्यत्र नजान निर्देशन दिइएको छ भने ड्रोन एसोसिएसन र र्याफ्टिङ एसोसिएसनलाई तयारी अवस्थामा परिचालन गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् ।
बुधबार बिहान करिब ८ः४० बजे रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको बाढीबारे कमान्ड पोस्टलाई ९ः०० बजे जानकारी प्राप्त भएको उनले बताइन् । बाढीले प्रहरी चौकी, भन्सार कार्यालय र हेल्थ पोस्टहरूमा असर पुर्याएको समेत प्रवक्ता महतले बताइन् ।
बाढीका कारण एनटिसी र एनसेलका टावरहरूमा क्षति पुगेकाले पूर्ण क्षतिको यकिन विवरण आउन बाँकी रहेको समेत महतले बताइन् । तिब्बततर्फ हिमपहिरो वा हिउँ पग्लिएर थुनिएको नदी एक्कासि खुल्न गई बाढी आएको अनुमान गरिएको प्राधिकरणले जनाएको छ ।



कागजपत्र |
