अम्बिका त बितिन्, छोरो बाँच्यो


काठमाडौं– छोराछोरीको उज्ज्वल भविष्यको कल्पना गर्दै श्रीमानलाई विदेश पठाएर सिराहबाट सुर्खेतमा कामको सिलसिलामा पुगेकी थिइन्, उनी। छोरीलाई सिराहाको गोलबजारमा बस्दै आएका सासु–ससुराको जिम्मा लगाएकी थिइन्।

सासु–ससुरा बुझ्ने भएपछि छोरीको रेखदेख राम्रैसँग भइरहेको थियो। दुई सन्तान मध्ये तीन वर्षीय काखे छोरालाई लिएर तीन महिनाअघि सिराहबाट उनी सुर्खेत गएकी थिइन्। शिक्षाका लागि खाद्य कार्यक्रम अन्तर्गत सुर्खेतमा उनको दरबन्दी थियो।

पछिल्लो केही दिनयता घरमा सासु बिरामी भएको खबर पाएकी थिइन् उनले। त्यही भएर अफिसमा छुट्टी मिलाएर उनी काखे छोरालाई बोकेर सासु–ससुरालाई भेट्न भन्दै शुक्रबार सुर्खेतबाट मे १ ख ३३४७ नम्बरको बस चढिन्।

अचानक उनी सवार बस भयानक दुर्घटनामा पर्यो। बस साँझ बाँकेको कोलहपुर बजार आइपुग्न लागेको थियो। मौसम पनि त्यति सफा थिएन। बसमा कति यात्रुहरु चढेका थिए, यकीन थिएन।

बाँकेको कोहलपुर नगरपालिका–१२ रोहिणी खोला नजिकै सुर्खेतबाट धरान जाँदै गरेको मे१ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको टिप्पर एक आपसमा ठोक्कियो। बस र टिप्पर दुवै पल्टियो।

बाँके राष्ट्रिय निकुन्ज अन्तर्गत पर्ने सडकखण्डको रोहणी खोला नजिकै भएको भयानक दुर्घटनामा उनै तीन वर्षीय बालक भने सकुशल बच्न सफल भए। यद्यपी दुर्घटनामा उनको आमाको मृत्यु भयो।

शिक्षाका लागि खाद्य कार्यक्रम अन्तर्गत सुर्खेतमा कार्यरत ३२ वर्षीय अम्बिकादेवी कामत आफ्नो ३ वर्षीय काखे छोरा राहुललाई लिएर बिरामी सासुलाई भेट्न सिराहा फर्किँदै थिइन्। सोही क्रममा कोहलपुरमा भएको दुर्घटनामा उनको ज्यान गयो।

दुर्घटनालगत्तै राहुलको उद्दार गरेर उपचारको लागि नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर पुर्याइएको थियो। आमाको मृत्युबारे बेखबर रहेका बालक राहुल ४८ घण्टासम्म्म परिवारको पर्खाइमा कोहलपुरमै बसे।

अहिले ति बालकलाई मृतक आमाको शवसँगै सिरहा ल्याउँदै गरिएको सिरहा नगरपालिकाका मेयर अशेश्वरप्रसाद यादवले बताए। ‘दुर्घटनामा अम्बिकासहित बालक परेको खबर पाउनेबित्तिकै लिन पठाएको हुँ,’ उनले भने, ‘प्रहरीको जिम्मामा कोहलपुरमै बालकको समेत उपचार गराउन लगाएँ।’

कोहलपुर प्रहरीको सम्पर्कमा मृतकका आफन्त आएपछि शवसहित बालकलाई जिम्मा लगाएर पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन्द्र खनालले अनलाइनन्यूजलाई बताए।

दुर्घटनामा अम्बिकाको मृत्यु भएपछि अहिले सासु बेहोस भएकी मेयर यादवले बताए। उनले भने, ‘परिवारको बिल्लीबाठ त भयो, बिरामी सासु भेट्न आएकी बुहारीको मृत्युको खबरले अर्धचेत अवस्थामा पुग्नुभएको छ।’

दुर्घटनामा कामतीसहित पाँचजनाले ज्यान गुमाएको डिएसपी खनालले जानकारी दिए। ‘सुरुमा बसमा कति यात्रुहरु चढेका थिए भन्नेबारे अलमल्लमा थियौं, उनले भने, ‘पछि प्रहरीले विवरण निकाल्न थालेपछि ५२ जना चढेको थाहा भयो।’

दुर्घटनामा कामतीसँगै कोहलपुर नगरपालिका–१२ का २१ वर्षीय उदय बाँठा, कोहलपुर १३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साटाखानीका ४० बर्षीय जिवनकुमार विक र झापाको मेचिनगरपालिका–१० का ४५ का छत्रबहादुर कटुवालको मृत्यु भएको डिएसपी खनालले बताए।

दुर्घटनामा ४७ जान घाइतेमध्ये सातजनाको अवस्था गम्भीर थियो।

प्रतिक्रिया