तराईका जिल्लामा खटाइयो १५ प्रहरीका उच्च अधिकृत, कसलाई कहाँ पठाइयो ?


काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले एसएसपीदेखि एआईजी तहसम्मका १५ जना उच्च प्रहरी अधिकृतलाई विभिन्न जिल्लामा परिचालन गरेको छ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार तराई–मधेशका जिल्लामा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन १५ जना उच्च अधिकृत खटाइएको हो।

१० साउनको राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको विवादका क्रममा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएपछि तराई–मधेशका विभिन्न जिल्लामा तनाव फैलिएको थियो।

त्यसयता मोरङ, सुनसरी, सिरहा, धनुषालगायत जिल्लामा प्रदर्शन, आगजनी र तोडफोडका घटना भएका छन्।

स्थिति नियन्त्रणका लागि प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गर्नुका साथै नेपाली सेनासमेत परिचालन गरेको छ।

घटनासँग सम्बन्धित विभिन्न हिंसात्मक घटनामा हालसम्म तीन जनाको ज्यान गइसकेको छ।

प्रहरीका अनुसार खटाइएका उच्च अधिकृतहरूले स्रोत-साधनको प्रभावकारी परिचालन, सुरक्षा अवस्थाको निरन्तर मूल्यांकन, नीति निर्देशन, सुरक्षा कार्ययोजनाको कार्यान्वयन, सूचना संकलन तथा विश्लेषण गर्नेछन्।

आवश्यकताअनुसार उनीहरू फिल्डमै खटिएर सुरक्षा व्यवस्थापन र समन्वयको जिम्मेवारीसमेत निर्वाह गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रधान कार्यालयका अनुसार एआईजी सिद्धीविक्रम शाहलाई बाँके खटाइएको छ भने एआईजी हिमालय कुमार श्रेष्ठलाई मधेश प्रदेशमा पठाइएको छ ।

त्यस्तै एआईजी उमा प्रसाद चतुर्वेदी (कपिलवस्तु), एआईजी ईश्वर कार्की (कोशी) मा खटाइएको छ । त्यस्तै डीआईजी दिनेश कुमार आचार्यलाई सिराहा पठाइएको छ भने प्रवक्ता एवं डिआईजी अबि नारायण काफ्लेलाई सप्तरी पठाइएको छ ।

त्यस्तै एसएसपी गोपाल चन्द्र भट्टराईलाई सर्लाही, एसएसपी सोमेन्द्र सिंह राठौरलाई पर्सा, एसएसपी दीप शम्शेर जबरालाई रौतहट, एसएसपी नवराज अधिकारीलाई चितवन पठाइएको छ ।

त्यस्तै एसएसपी कृष्ण प्रसाद पंगेनीलाई महोत्तरी पठाइँदा एसएसपी होबिन्द्र बोगटीलाई बारा पठाइएको छ । त्यस्तै एसएसपी ज्ञानेन्द्र प्रसाद फुयाँललाई मोरङ पठाइएको छ भने एसएसपी भुवनेश्वर तिवारी र अमरेन्द्र बहादुर सिंहलाई क्रमशी धनुषा र मधेश प्रदेश पठाइएको छ ।

प्रतिक्रिया