आज साउन महिनाको पहिलो सोमबार, शिवालयहरुमा भक्तजनको भीड


काठमाडौँ– आज साउन महिनाको पहिलो सोमबार । सौरमासअनुसार साउनको पहिलो सोमबारको व्रत आजबाट सुरु भएको छ ।

साउन महिनाको पहिलो सोमबार भगवान शिवको पूजाआराधनाका लागि आज बिहानै देखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ ।

पशुपतिनाथका चारवटै ढोका बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिएको छ ।

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषगरी आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार आज पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

साउनको पहिलो सोमबारदेखि अन्तिम सोमबारसम्म व्रत गरेका भक्तजनले अन्तिम दिनमा गोदान एवं पूर्णपात्र दान गरी व्रत समापन गर्दछन् ।

 

व्रत महिमा

पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । ती हुन्— साउने सोमबार, सोर्‍ह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ ।

दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा समस्या समाधान हुने जनविश्वास छ ।

शास्त्रअनुसार भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन्– मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन् ।

प्रतिक्रिया