कुशल भुर्तेलको शतकको साथमा नेपालले जर्सीलाई ८१ रनले हरायो


काठमाडौं – नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा ८१ रनको जित निकालेको छ।

सोमबार ग्रानभिलमा नेपालले प्रस्तुत गरेको २५१ रनको लक्ष्य पछ्याएको घरेलु टोली जर्सी ४१ ओभरमा १६९ रनमा समेटियो। जर्सीका चार्ली ब्रेनन ८२ रनमा अविजित रहे । डानियल बिरेलले ४१ रन बनाए।

नेपालका हेमन्त धामीले सर्वाधिक चार विकेट लिए। आरिफ शेखले तीन, करण केसीले दुई तथा सन्दीप लामिछानेले एक विकेट हात पारे।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २५० रनको योगफल तयार पारेको थियो।

नेपाल ३१औँ ओभरमा १५८–२ को अवस्थामा रहँदा वर्षाका कारण करिब डेढ घण्टा खेल रोकिएको थियो। तर, खेल ओभर नघटाइ पुनः सुरु भएको थियो।

नेपालका कुशल भुर्तेल सर्वाधिक १०५ रनको योगदान गरे। उनले ११७ बल खेल्दै १३ चौका प्रहार गरे। भीम सार्कीले ३९, हेमन्त धामीले १९, आसिफ शेखले १६, कप्तान रेहितकुमार पौडेलले १५, करण केसी र सन्दीप लामिछानेले १३/१३ तथा आरिफ शेखले ११ रन बनाए।

जर्सीका डानियल बिरेल, बेन्जामिन वार्ड र निक ग्रीनउडले दुई/दुई विकेट लिँदा जर्ज रिचार्डसन र चाल्र्स पर्चार्डको नाममा एक विकेट रह्यो । दोस्रो तथा अन्तिम अभ्यास खेल बुधबार हुनेछ।

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आगामी त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरुप जर्सीसँग अभ्यास खेल खेलेको हो।

नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित सिरिज जुलाई २१ देखि सुरु हुँदै छ।

प्रतिक्रिया