इक्वेडरलाई २–० हराउँदै मेक्सिको अन्तिम १६ मा


काठमाडौं – सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश गरेको छ ।

मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका स्टेडियममा बुधबार बिहान भएको खेलमा इक्वेडरलाई २–० हराउँदै घरेलु टोलीले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

मेक्सिकोको जितमा राउल जिमेनेज र जुलियन क्विनोनेसले गोल गरे । खेलको २१औं मिनेटमा जुलियनले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । ३१औं मिनेटमा राउलले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन । र मेक्सिको घरेलु मैदानमा २–० ले विजयी भयो ।

अज्टेका स्टेडियममा मेक्सिकोले अपराजित यात्रा कायम राखेकाे छ । योसँगै मेक्सिकोले ४० वर्षपछि विश्वकपको नकआउट चरणमा जित निकालेको छ । यसअघि मेक्सिकोले सन् १९८६ यता कुनै पनि नकआउट खेल जित्न सकेको थिएन ।

मेक्सिकोले समूह चरणमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको थियो । हारसँगै इक्वेडरको विश्वकप यात्रा सकिएको छ ।

प्रतिक्रिया