
हाइटीलाई ३–० ले हराउँदै ब्राजिल समूह ‘सी’को शीर्षस्थानमा
काठमाडौं – पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६ मा पहिलो जित दर्ता गरेकाे छ ।
फिलाडेल्फिया स्टेडियममा आज बिहान भएको समूह ‘सी’ काे खेलमा हाइटीलाई ३–० गोलले हराउँदै ब्राजिलले सानदार जित निकालेको हो ।
ब्राजिललाई जित दिलाउन म्याथियस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरेका थिए । कुन्हाले खेलको २३औं र ३६ औँ मिनेटमा तथा भिनिसियसले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
जारी विश्वकपमा भिनिसियसको यो दोस्रो गोल हो । उनले मोरक्कोसँगको पहिलो खेलमा एक गोल गरेका थिए ।
यो जितसँगै ब्राजिल दुई खेलबाट ४ अंकका साथ समूहको शीर्षस्थानमा उक्लिएको छ । योसँगै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनेको छ ।
यसअघि आफ्नो पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेलेको थियो भने हाइटी स्कटल्याण्डसँग पराजित भएको थियो ।



कागजपत्र |
