
मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिले विवाद
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का विश्वासपात्र मानिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको एक अभिव्यक्तिले नयाँ विवाद निम्त्याएको छ। विकास निर्माणका काममा देखिएको ढिलासुस्तीप्रति आक्रोश व्यक्त गर्ने क्रममा उनले प्रयोग गरेको भाषाशैलीलाई लिएर आलोचना र समर्थन दुवै सुरु भएको हो।
काठमाडौँ उपत्यकाको सडक अनुगमनका क्रममा बोल्दै मन्त्री लम्सालले काममा ढिलाइ गर्ने ठेकेदारहरूप्रति कडा असन्तुष्टि व्यक्त गरेका थिए। सो क्रममा उनले “काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नुस्, फरक पर्दैन” भन्ने अभिव्यक्ति दिएका थिए। उनले बिजुली पोल जडानसँग सम्बन्धित काममा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै, “यो बिजुली पोलको ठेकेदार यो धर्तीमा कहाँ छ, त्यसलाई लिएर आउनुस्, उसले काम गरेन भने खुट्टा भाँचिदिने” जस्ता शब्द प्रयोग गरेका थिए।
मन्त्रीको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ। केहीले विकास निर्माणका काममा वर्षौंदेखि देखिँदै आएको ढिलासुस्तीप्रति जनप्रतिनिधिको आक्रोश स्वाभाविक भएको प्रतिक्रिया दिएका छन् भने अर्कोतर्फ सार्वजनिक पदमा बसेका व्यक्तिबाट यस्तो हिंसात्मक र उत्तेजक भाषा प्रयोग हुनु अनुचित भएको भन्दै आलोचना पनि भइरहेको छ।
कानुनी शासन र विधिको शासनको वकालत गर्ने राज्य संयन्त्रका जिम्मेवार पदाधिकारीबाट यस्ता अभिव्यक्ति आउनु गलत सन्देश दिने भन्दै टिप्पणी हुन थालेका छन्। ठेकेदारमाथि कारबाही गर्ने अधिकार कानुनी प्रक्रियामार्फत प्रयोग गर्नुपर्ने भए पनि शारीरिक हिंसाको संकेत गर्ने भाषा सार्वजनिक पदको मर्यादासँग मेल नखाने आलोचकहरूको भनाइ छ।
यद्यपि मन्त्री लम्सालका समर्थकहरूले भने उनको अभिव्यक्तिलाई विकास निर्माणमा देखिएको चरम लापरबाहीप्रति गरिएको तीव्र आक्रोशका रूपमा व्याख्या गरेका छन्। यस घटनाले सार्वजनिक पदाधिकारीको भाषा, जिम्मेवारी र कानुनी सीमाबारे नयाँ बहस सुरु गरेको छ।



कागजपत्र |
