
यो सरकारलाई राम्रो माहोल छ, अवसर गुमाउनु हुँदैन : गगन थापा
काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारलाई देशलाई एक फड्को अगाडि लैजाने ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन्। उनले २०१५ सालमा बीपी कोइरालाले पाएको अवसरसँग तुलना गर्दै अहिलेको राजनीतिक वातावरणलाई महत्वपूर्ण मोडका रूपमा व्याख्या गरे।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ‘सुवर्ण शमशेर इकोनोमिक शृङ्खला–१’ कार्यक्रममा बोल्दै थापाले बजेट कार्यान्वयन र समग्र शासन प्रणालीलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरे।
उनका अनुसार प्रचण्ड बहुमत प्राप्त वर्तमान सरकारले नीति निर्माण र कार्यान्वयनमा निर्णायक भूमिका खेल्ने अवसर पाएको छ। उनले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनपछि बनेको सरकारले जनअपेक्षा अनुसार काम गर्नुपर्ने बताए।
“शासकको जवाफदेहिता र मर्यादित जीवनको माग गर्दै भएको आन्दोलनको आधारमा बनेको यो सरकारले ठूलो जनसमर्थन पाएको छ,” थापाले भने, “बजेट ल्याउने र कार्यान्वयन गर्ने सबै अधिकार पनि यसै सरकारसँग छ, त्यसैले यसले राम्रो परिणाम दिनुपर्छ।”
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख संरचनागत समस्यातर्फ संकेत गर्दै थापाले समस्याको सही उपचार भए मात्र बजेटको प्रभावकारिता मूल्यांकन गर्न सकिने धारणा राखे। उनले अहिले नै बजेट सही वा गलत भनेर निष्कर्ष निकाल्ने समय नभएको बताए।
थापाले कांग्रेस र एमालेजस्ता पुराना दलहरू सरकार असफल होस् भन्ने चाहनामा नरहेको स्पष्ट पारे। उनले देशलाई स्थायित्व र विकासको बाटोमा अघि बढाउन सबै राजनीतिक शक्तिको साझा जिम्मेवारी रहेको उल्लेख गरे।
ऐतिहासिक सन्दर्भ जोड्दै उनले २०१५ सालमा बीपी कोइरालाको नेतृत्वमा कांग्रेसले पाएको दुईतिहाइ बहुमत र २०४८ सालको सरकारको अनुभव स्मरण गरे। ती अवसरहरू सही रूपमा उपयोग हुन नसकेको भन्दै उनले अहिलेको सरकारलाई त्यस्तो गल्ती नदोहोऱ्याउन आग्रह गरे।
त्यसैगरी, २०७२ सालको भूकम्पपछि कांग्रेसले अपनाएको आर्थिक नीतिले देशलाई ठूलो संकटबाट जोगाउन सहयोग गरेको पनि उनले उल्लेख गरे।



कागजपत्र |
