
पाल्पा अस्पतालमा एआरभी खोप अभाव, निःशुल्क सेवा ठप्प
पाल्पा- पाल्पा अस्पतालमा रेबिजविरुद्ध प्रयोग हुने एन्टी–रेबिज भ्याक्सिन (एआरभी) अभाव भएपछि निःशुल्क खोप सेवा अस्थायी रूपमा स्थगित गरिएको छ। खोप मौज्दात सकिएसँगै सेवा बन्द गर्नुपरेको अस्पतालले जनाएको छ।
अस्पताल विकास समितिका अध्यक्ष अजय कर्मचार्यका अनुसार प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, रूपन्देहीबाट नियमित रूपमा प्राप्त हुँदै आएको एआरभी खोप पछिल्ला तीन महिनादेखि आपूर्तिमा समस्या देखिएको छ। यसबीच अस्पतालले करिब एक लाख रुपैयाँ खर्च गरेर खोप खरिद गरी निःशुल्क सेवा सञ्चालन गर्दै आएको थियो।
तर खरिद गरिएको खोप पनि सकिएपछि जेठ २६ गतेदेखि एआरभी सेवा पूर्ण रूपमा रोकिएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका अनुसार प्रदेश आपूर्ति केन्द्रबाट पुनः खोप प्राप्त भएपछि मात्र सेवा पुनः सञ्चालन गरिनेछ। त्यसबारे अर्को सूचना जारी गरिने तयारी गरिएको छ।
अस्पताल प्रशासनले बिरामी उपचारका लागि अस्पताल आएर पनि सेवा नपाई फर्किनुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले सेवा स्थगनबारे सूचना जारी गरिएको स्पष्ट पारेको छ।
रेबिज सङ्क्रमित जनावरको टोकाइपछि दिइने एआरभी खोपलाई जीवनरक्षक मानिन्छ। खोप अभावका कारण सेवा प्रभावित हुँदा स्थानीय सेवाग्राही समस्यामा पर्ने चिन्ता व्यक्त गरिएको छ।
स्वास्थ्यकर्मीहरूले आवश्यक खोपको नियमित आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई तत्काल ध्यान दिन आग्रह गरेका छन्।



कागजपत्र |
