
फागुन २१ को निर्वाचन विश्वकै लागि अध्ययनयोग्य : पूर्वप्रधानमन्त्री कार्की
काठमाडौं- पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वकै लागि अध्ययन गर्न लायक अभ्यासका रूपमा वर्णन गरेकी छिन् ।
निर्वाचन आयोगद्वारा आज आयोजित केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन कार्यक्रममा बोल्दै उनले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु नेपालका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन् । उनका अनुसार उक्त निर्वाचनमा नयाँ दल र नयाँ पुस्ताको प्रतिनिधित्व बढेको र जनताले दिएको मतको सम्मान गर्दै उनीहरूलाई काम गर्न दिनुपर्ने आवश्यकता रहेको छ।
उनले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय तथा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको पनि बताइन् ।
कार्यक्रममा पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विषम परिस्थितिमा पनि सरकार, आयोग र सरोकारवालाको सहकार्यले कुनै हिंसात्मक घटना नभई निर्वाचन सम्पन्न भएको बताइन् ।
त्यस्तै पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन, राजनीतिक संस्कार र स्थायित्व कायम गर्नुपर्नेमा जोड दिए ।



कागजपत्र |
