रास्वपा सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका विदेशमन्त्री एस. जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ।

भारत भ्रमणमा रहेका सभापति लामिछानेले मंगलबार विदेशमन्त्री जयशंकरसँग शिष्टाचार भेट गरेका हुन्। भेटमा दुई देशबीचको विकास साझेदारी, आपसी सहयोग तथा जनस्तरको सम्बन्ध (People-to-People Relations) सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ।

भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत भेटबारे जानकारी दिँदै नेपालका रास्वपा सभापति र उनको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्। उनले लेखेका छन् कि छलफल मुख्यतः विकास साझेदारी र जनस्तरको सम्बन्धमा केन्द्रित थियो, जसले दुवै देशको विकास, प्रगति र समृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

सभापति लामिछाने भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा रहेको जनाइएको छ।

प्रतिक्रिया