
चितवनमा गोहीको आक्रमणबाट ५६ वर्षीय पुरुषको मृत्यु
चितवन – चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ निवासी ५६ वर्षीय कुलबहादुर चोखाल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार मंगलबार घाँस काट्न निस्किएका चोखाल गोहीको आक्रमणमा परेका हुन्।
प्रहरीका अनुसार उनी घर नजिकै रहेको हरियाली सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएका थिए। लामो समयसम्म घर नफर्किएपछि परिवार र स्थानीयवासीले खोजी गरेका थिए।
खोजतलासका क्रममा राप्ती नदी किनारमा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा मृतकको खुट्टाको भाग गोहीले खाएको जस्तो देखिएको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।



कागजपत्र |
