
च्याम्पियन बन्यो आरसीबी, लगातार दोस्रोपटक आइपीएल उपाधि
काठमाडौं – गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लगातार दोस्रो पटक इण्डियन प्रिमियर लिग (आइपीएल)को च्याम्पियन भएको छ।
अहमदाबादमा आइतबार राति सम्पन्न फाइनल खेलमा गुजरातलाई ५ विकेटले हराउँदै बेंगलुरु लगातार दोस्रो संस्करणमा च्याम्पियन भएको हो।
गुजरातले दिएको १५६ रनको लक्ष्य बेंगलुरुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। बेंगलुरुका लागि विराट कोहलीले ४२ बलमा ९ चौका र ३ छक्काको सहयोगमा अविजित रहँदै सर्वाधिक ७५ रनको अर्धशतकीय इनिङ्स खेले।
वेङ्कटेस अय्यर १६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाउँदै पवेलियन फर्किए। कप्तान रजत पाटीदार १३ बलमा १५, टिम डेविड २४ रन बनाउँदै आउट भए।
गुजरातका लागि रशिद खानले २, कागिसो रवडा, मोहम्मद सिराज र अर्शद खानले समान १ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रनको मध्यम योगफल तयार गरेको थियो।
गुजरातका लागि वासिङ्टन सुन्दरले ३७ बलमा ५ चौकाको सहयोगमा अविजित रहँदै सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए।
निशान्त सिन्धु २०, जोस बटलर १९, अर्शद खान १५, कप्तान शुभमन गिल १० तथा साई सुदर्सन १२ रनमा आउट भएका थिए।
बेंगलुरुका लागि रसिक सलाम ३, जोस हेजवुड र भुवनेश्वर कुमारले समान २ तथा कुर्नाल पाण्ड्याले १ विकेट आफ्नो नाममा गरे।
लिग चरणको खेलमा शीर्ष स्थानमा रहेको बेंगलुरुले पहिलो क्वालिफायरमा गुजरातलाई नै पराजित गरि फाइनलको यात्रा गरेको थियो।
इलिमिनेटरमा सनराइजर्स हैदराबादलाई पराजित गरि आएको राजस्थान रोयल्सलाई दोस्रो क्वालिफायरमा पराजित गरि गुजरातले फाइनलसम्मको यात्रा गरेको हो।
बेंगलुरु यसअघि सन् २००९, सन् २०११, सन् २०१६ तथा सन् २०२५ को संस्करणमा फाइनल पुगेकोमा अघिल्लो संस्करणमा पहिलो पटक च्याम्पियन बनेको थियो।
बेंगलुरु लगातार दोस्रो पटक च्याम्पियन बन्ने तेस्रो टोली बनेको छ। यसअघि सन् २०१० र २०११ मा चेन्नईले तथा सन् २०१९ र २०२० मा मुम्बईले यो सफलता प्राप्त गरिसकेका थिए।
उपविजेता बनेको गुजरात सन् २०२२ को संस्करणको आइपिएलमा पहिलो पटकको सहभागीतामा नै च्याम्पियन हुँदा सन् २०२३ को संस्करणमा पनि फाइनल पुगेको थियो।



कागजपत्र |
