
कैलालीमा पिकनिकस्थलमा दुई समूहबीच कुटाकुट, प्रहरीमाथि समेत आक्रमण
कैलाली – कैलालीको कैलारी गाउँपालिका–१ स्थित बनदेवी मन्दिर क्षेत्रमा पिकनिक मनाउन आएका दुई समूहबीच कुटाकुट हुँदा प्रहरीमाथि समेत आक्रमण भएको छ।
जेठ १४ गते शनिबार भएको उक्त घटनाले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन पुगेका प्रहरीमाथि आक्रमण गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनामा तीन प्रहरीसहित ६ जना घाइते भएका छन् भने कुटपिटमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमल्सीनाका अनुसार पिकनिक मनाउन आएका समूहबीच विवाद चर्किएपछि इलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी सहायक निरीक्षक साउनसिंह क्षेत्री भाटको कमाण्डमा चार जनाको टोली घटनास्थल पुगेको थियो।
तर स्थिति नियन्त्रण गर्ने क्रममा प्रहरी टोलीमाथि समेत आक्रमण भएको थियो। घटनामा प्रहरी सहायक निरीक्षक भाट, प्रहरी हवल्दार भवानसिंह बुडाल र प्रहरी सहायक हवल्दार शैलेन्द्र बोहरा घाइते भएका छन्।
घाइतेमध्ये शैलेन्द्र बोहराको टाउको, हात र खुट्टामा चोट लागेको छ र उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हवल्दार बुडालको मोटरसाइकलमा समेत क्षति पुगेको छ।
स्थिति थप बिग्रिएपछि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी निरीक्षक सुनिलविक्रम शाहको कमाण्डमा १२ जनाको थप टोली परिचालन गरी घटना नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनामा स्थानीय ४० वर्षीय गोकर्ण बोहरा, ४५ वर्षीय रामचरण चौधरी र ४० वर्षीय नृप बोहरा पनि घाइते भएका छन्। गोकर्ण बोहराको हात र खुट्टाको शल्यक्रिया गरिएको छ भने अन्यको अवस्था सामान्य रहेको जनाइएको छ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा घोडाघोडी नगरपालिका–११ का २० वर्षीय स्वरुप कठरिया, २३ वर्षीय दिलिप कठरिया र २१ वर्षीय अरमान कठरियालाई पक्राउ गरेको छ। स्वरुप कठरियाले प्रयोग गरेको ट्र्याक्टरसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।



कागजपत्र |
