व्रिफकेसको परम्परा तोड्दै नेपाली कागजको फाइलमा बजेट


काठमाडौं-  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट नेपाली कागजबाट बनेको फाइलमा बोकेर ल्याएका छन्। बजेट प्रस्तुतिसँग जोडिएको पुरानो व्रिफकेसको परम्परा तोड्दै उनले यस वर्ष नयाँ शैली अपनाएका हुन्।

अर्थ मन्त्रालयबाट नेपाली कागजको फाइलमा बजेटका दस्तावेज बोकेर निस्किएका अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकमा सहभागी भएका छन्। मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि संघीय संसद्को संयुक्त बैठकमा अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।

नेपालमा बजेट प्रस्तुत गर्दा व्रिफकेस वा विशेष झोला प्रयोग गर्ने परम्परा रहँदै आएको थियो। तर यस वर्ष अर्थमन्त्री वाग्लेले स्वदेशी उत्पादन र नेपाली पहिचान झल्किने नेपाली कागजको फाइल प्रयोग गर्दै फरक सन्देश दिन खोजेको देखिएको छ।

मन्त्रिपरिषद् बैठकले बजेटलाई अन्तिम स्वीकृति दिएपछि अर्थमन्त्री वाग्लेले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्यय विवरण सार्वजनिक गर्नेछन्।

प्रतिक्रिया